छाउगोठ भत्किए, चलन चाँहि कहिले भत्किन्छ ?

0
Shares

मानबहादुर बोहरा, बझाङ ।

बझाङका अधिकांस ठाउँमा अझै पनि दर्जनौँ छाउगोठ रहेका छन् । पछिल्लो समय भने अभियान नै चलाएर छाउगोठ भत्काउन थालिएको छ । जिल्ला प्रशासनको निर्देशनमा प्रहरीले स्थानीय तह र स्थानीहरु सँगै समन्वय गरेर गाउँगाउँमा सचेतना कार्यक्रम गर्दै छाउघर भत्काउन सुरु गरेको हो । प्रहरीले पुस महिना यता मात्रै जिल्लाका विभिन्न गाउँका १ सय ५० भन्दा बढी छाउगोठ भत्काएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अहिले छाउप्रथा जडित समूदायमा प्रहरी, स्थानीय तह, सामाजिक संस्था, समुदाय र विद्यालयलाई सचेतना मूलक कार्यक्रम गर्न सरकारले निर्देशन दिएको छ । थलारा, खप्तडछान्ना, मष्टा, दुर्गाथली र जयपृथ्वी नगरपालिकाका विभिन्न ठाउँमा छाउघर भत्काएको र जयपृथ्वी नगरपालिकाको विभिन्न ठाउँमा छाउघर भत्काउन ताकेता गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी गणेशबहादुर बमले जानकारी दिए । अहिलेसम्म सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा २३ भन्दा बढी छाउघर भत्काइसकेको बताइएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लाका ग्रामिण बस्तिहरुमा छाउगोठ व्याप्त रहेका कारण अब छाउ गोठहरुलाई हटाउन सबैले एकजुट भएर लाग्नुपर्ने बताए । छाउपडी गोठमा बस्ने र बसाल्न लगाउने जोकोहीलाई पनी तिन महिना कैद वा तिन हजार जरिवाना गरिने उनले बताए । आफूले छाउगोठ भत्काउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । छाउगोठ भत्काउन जत्तिको आवश्यकता छ त्यो भन्दा बढी आवश्यकता चेतनामा वृद्धी गर्न रहेको सामाजीक अगुवा धर्मजङ्ग सिंहले बताए । उनले भने, “छाउपढी मान्ने यी मान्छेका सोच भत्किनुपर्दछ । छाउगोठ आफैँ भत्किन्छन् ।”

सुदूरपश्चिममा महिनावारी हुँदा त्यसलाई देउतासँग जोडेर पाप र धर्मको दृष्टिकोणले छाउ बार्ने चलन रहँदै आएको छ । महिनावारी बार्ने क्रममा किशोरी तथा महिलाहरुलाई यस्तो खालको घाम नछिर्ने घरमा राखिन्छ । सर्वोच्च अदालतले २०६३ सालमै छाउपडीलाई कुप्रथा मान्दै त्यसलाई निर्मूल पार्न आदेश दिएको भए पनि कतिपय शिक्षित र सम्पन्न घरमै पनि महिलाहरु छाउगोठमा बस्न बाध्य छन् ।
यस्ता छाउगोठमा बस्दा खासगरी बझाङ सहित अछाम, बाजुरा लगायत सुदूरपश्चिमका जिल्लामा धेरै किशोरीहरुको ज्यान समेत गएको समाचारहरु आएका थिए । छाउप्रथा अन्त्यका लागि समय लाग्ने देखिए पनि गाउँघरमा भने छाउपडीविरुद्ध बिस्तारै आवाज उठ्न थालेका छन् ।

कतिपय ठाउँमा छाउप्रथाविरुद्धको जनचेतना बढाउन स्थानीय महिला जनप्रतिनिधिहरू सक्रिय भएका छन् भने त्यसबारे कानूनी सचेतनाबारे प्रहरीले गाउँलेलाई जानकारी दिइरहेका छ । गाउँघरमा मात्रै होइन वडा अध्यक्षहरुको सहभागितामा महिनावारी हुँदा छाउघरमा बसे कस्तो शारिरीक तथा मानसिक असर पर्छ भन्नेबारे विद्यालयमा पनि जनचेतना फैलाउने कामहरु भइरहेका छन् ।

बझाङको जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका सहित आसपासमा रहेका ठाउँमा नै छाउप्रथा र भेदभावले जरा गाडेको छ । सदरमुकाम आसपासमा अहिले पनि छाउ भएको समयमा दही, मही, घ्यु, दुधजस्ता पौष्टिक तत्व खान दिइदैन । तर जिल्लाका अन्य ठाउँमा खान र बस्नमा कुनै समस्या छैन । केदारस्युँ गाउँपालिका वडा नं. ८ सुकानाउलाका परुली देवी बोहराले पहिलाको जस्तो अबस्था नरहेको बताईन् । उनले भनिन्, “पहिला छाउभएको बेला दहि, दुध खाने गरेको थिएन । अहिले त त्यस्तो अवस्था छैन् । पहिलाको भन्दा धेरै सुधार भईसकेको छ ।”