‘नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट भएकाले राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा हुनु अपरिहार्य भएकाले त्यसका लागि प्रहरीसंगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो।

सामुदाय–प्रहरी पालिका समिति, चन्द्रागिरिले थानकोट चेकपोस्टमा गरेको सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै सो कुरा उहाँले बताउनुभएको हो।

अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै जनतासंगको सहकार्यबिना समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सम्भव नहुने बताउनुभयो।

डीआईजी पोखरेलले नेपाल सरकारले अंगिकार गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य पूरा गर्ने कार्य सबैको सहयोग र सहकार्यले मात्र पूरा गर्न सकिने भन्दै समाज परिवर्तन गर्न वा सुधार गर्न आफैंबाट सुरू गर्नुपर्ने ,आफू सुधार भए मात्र समाज र राष्ट्रलाई सुधार वा परिवर्तन गर्न सकिने बताउनुभयो।

आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणका लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउँदै प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत् नागरिकसंग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नुभयो।

प्रविधिको विकाससंगै अपराधको प्रविधिमा परिवर्तन हुनु अहिलेको लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेपनि प्रहरी सदैव सजग र सचेत रहँदै प्रहरी त्यस्ता प्रत्येक कार्यको समेत सूक्ष्म निगरानी गरिरहेको बताउनुभयो।

सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभूत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभूत कुराहरू कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थबिना कार्य गर्ने बताउनुभयो।