पूर्वमाओवादी निकट प्राध्यापकले भेटे प्रचण्ड

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं, (नेस)। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाको मनपरी नियुक्तिको विरोधमा उत्रिएका नेकपाभित्रका पूर्वमाओवादीका प्राध्यापकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन्।

पदाधिकारी नियुक्तिमा मनपरी गरेको र आफ्नो पार्टी निकटलाई रजिस्ट्रारमा नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आएका तत्कालीन माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकले चार दिनअघि प्रचण्डसमक्ष भेट गरेका थिए।

भेटका अवसरमा उनीहरूले पूर्वएमाले निकट उपकुलपतिले त्रिविमा मनपरी गर्न थालेको, आफू निकटलाई मात्र नियुक्ति गर्न थालेको बताएका थिए। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेकपाका अध्यक्ष दाहालले यो विषयमा आफू गम्भीर भएको बताउँदै तत्काल अर्का अध्यक्ष, प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष कुराकानी गर्ने बताउनुभएको थियो।

म चितवन भएको बेला नियुक्ति गर्नुभएको रहेछ, अब नियुक्ति गर्दा छलफल गरौंला भन्नुभयो –प्रचण्डको भनाइ उद्धृत गर्दै एक प्राध्यापकले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उपकुलपति बास्कोटाले रजिस्ट्रारमा प्राडा. पेशल दाहाललाई नियुक्ति गरेपछि आक्रोशित भएका पूर्वमाओवादी प्राध्यापकले रेक्टरमा राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकलाई नियुक्ति गर्नुपर्ने बताएका छन्।

भेट गर्न गएका प्राध्यापकले अन्य विश्वविद्यालयका उपकुलपति नियुक्ति गर्दा चनाखो हुनुपर्ने बताएका थिए। प्रचण्डसंग भेट गरे लगत्तै संगठनले उपकुलपति बास्कोटासंग कुराकानी गरेका थिए।

कुराकानीका क्रममा उपकुलपति बास्कोटाले मिलेर जानुको विकल्प नभएको बताउनुभएको एक प्राध्यापकले जानकारी दिए। उहासँग टेलिफोनमा भएको कुराकानीमा अन्य पदाधिकारीको नियुक्ति गर्नुअघि तपाईंहरूले माथि कुरा गर्नुस् भन्नुभएको थियो।

अधिकांश एकल निर्णय गर्न खप्पिस उपकुलपति बास्कोटाले हालसम्म दुई संगठनलाई मिलाएर लैजान सक्नुभएको छैन। उहाँले हालसम्म कुनै पनि देखिने काम गर्न नसक्नुभएको उहाँ निकट कर्मचारीकै आरोप छ।