पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आउँदै

0
Shares

काठमाडौं, (नेस)।

करिब एक महिनाअघि झापा भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह पाँच दिनका लागि काठमाडौं आउनुहुने भएको छ। मंसिर २७ गते झापा पुग्नुभएका उहाँ आज बुधबार साँझ काठमाडौं आउन लाग्नुभएको हो।

करिब दुई दिनको बसाइपछि उहाँ पुनः झापा जाने कार्यक्रम रहेको छ। झापा पुगे पनि हालसम्म कोहीसँग भेटघाट गर्नुभएको छैन।
उहाँ माघ १ गते पुनः झापा फर्कने कार्यक्रम रहेको छ।

राष्ट्रिय एकता दिवस मनाउन काठमाडौं आउनुहुने उहाँ झापा फर्केपछि विभिन्न निकायका राजनीतिज्ञ र अन्य व्यक्तिसंग भेटघाट गर्ने र धार्मिक तीर्थस्थल भ्रमण गर्ने कार्यक्रम रहेको छ।

कोमलसहित झापा पुग्नुभएका ज्ञानेन्द्रले एक्लै काठमाडौंं आउन लाग्नुभएको हो। उहाँको सुरक्षा र बन्दोबस्तीका टोली, केही कर्मचारी र भान्छे झापामै बस्ने कार्यक्रम रहेको छ।

उहाँ सम्भवतः माघ १ गते झापा आएपछि थप कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। उता पूर्वनवयुवराज हृदयन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न स्वीजरल्यान्ड जानुभएको छ।

उहाँ सोमबार दिउँसो स्वीजरल्यान्ड जानुभएको हो। छोराको उच्च शिक्षा अध्ययनको व्यवस्थापन गर्न पूर्वयुवराज्ञी हिमानीसमेत स्वीजरल्यान्ड पुग्नुभएको छ।