सामान्य वर्षाले ग्रामीण सडक हिलाम्मे

0
Shares

पुष्पा थापा, सर्लाही।

ग्रामीण क्षेत्रका अधिकाँस कच्ची सडक हिउँदे वर्षाले हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्नु परेको छ। सडकमा पानी जमेर हिलाम्मे भएको कारण त्यस क्षेत्रका स्थानीय बासिन्दालाई हिँडडुल गर्न समस्या परेको छ।

सडक हिलो भएपछि बिद्यालय पढ्न जाने बिद्यार्थीको पढाइ प्रभावित भएको मानपुर माविका प्रधानाध्यापक चन्द्रकिशोर रायले बताउनुभयो।

ग्रामीण सडक दिनदिनै बिग्रिएकाले किसानलाई तरकारी र उखु खेतबाट ढुवानी गर्न समस्या परेको धनकौल ५ का किसान उदय महतोले बताउनुभयो।

गत आर्थिक वर्षमा निर्माण भएका धेरै सडक भत्किएकाले पुनःनिर्माण गर्नु पर्ने स्थानीय बताउछन्। कमजोर तरिकाले निर्माण गरिएका सडकमा ठुला क्षमताका मालबाहक सवारी साधन गुड्ने गरेपछि सडक बिग्रिएर अहिले मोटरसाइकल समेत गुडाउन मुस्किल परेको चन्द्रनगर गाउँका स्थानीय गणेश साह बताउनुहुन्छ।

साह भन्नुभयो–धेरै नाफा कमाउने उदेश्यले उपभोक्ता समिती मार्फत बनेका सडक सानो पानी परेपछि बिग्रिएर हिड्न सकिदैन, सडकमा ढल नहुदा पानीको निकास समेत हुन सकेको छैन,गाँउघरमा त अहिले विकासको नाममा विनास नै भयो।

पछिल्लो समय अधिकास पालिकाहरुले धेरै बजेट सडक निर्माणमा खर्च गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन।। गत आर्थिक वर्षमा स्थानीय सरकारले ६० प्रतिशत भन्दा धेरै रकम पुर्वाधार विकासमा खर्च गरेका थिए।

आर्थिक वर्ष सकिन लाग्दा हतार हतारमा बनाईएका ग्रामीण सडक कमजोर हुने गरेको जानकारहरु बताउँछन्। सडक निर्माणमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यले ठुलो रकम खर्च गर्दै आएका छन्।

ग्रामीण सडक कमजोर बनेको जिल्ला समन्वय समिति सर्लाहीका संयोजक मेथुर चौधरीले बताउनुभयो। चौधरी भन्नुहुन्छ– संघीय तथा प्रादेशिक सरकारको बजेट पनि सडकमै खर्च हुन्छ, पालिकाले कमजोर काम गरेर बजेट सिध्याउने काम मात्र गरेका छन।