महानगरका जनप्रतिनिधिको सुविधा खोसियो

0
Shares

विराटनगर, (नेस)

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले प्रदेश कानुनविपरीत लिँदै आएको अतिरिक्त सुबिधा उच्च अदालत विराटनगरले बदर गर्न आदेश दिएको छ।

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दायर गरेको परमादेश रिट निवेदनमा उच्च अदालतका न्यायाधीश हरिप्रसाद बगाले र नरिश्वर भण्डारीको संयुक्त इजलासले महानगरपालिकाका जनप्रतिनिधिले लिएको सुबिधा प्रदेश कानुनविपरीत रहेको भन्दै बदर गर्ने आदेश दिएको हो।

जनप्रतिनिधिले प्रदेश कानुनअनुसार भनी मासिक पारिश्रमिक र गत असार १० गतेको नगरसभाले पारित गरेअनुसार स्थानीय सुबिधा लिँदै आएका थिए। उक्त निर्णय प्रदेश एक सरकारले निर्माण गरेको गाउँ तथा नगर सभा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ (पहिलो संशोधन) विपरीत रहेको ठहर गर्दै उच्च अदालतले बदर गर्न आदेश दिएको हो।

प्रदेश सरकारले निर्माण गरेको उक्त ऐनमा जनप्रनिधिले मासिक पारिश्रमिक र पोसाक भत्ता नपाउने उल्लेख गरिएको छ। तर प्रदेश ऐनविपरीत विराटनगर महानगरपालिकाले भने मासिक पारिश्रमिक र पोसाक भत्ता दिने निर्णय गरेको थियो।

प्रदेश १ ले निर्माण गरेको ‘गाउँ तथा नगरसभा सदस्यहरूको सुबिधासम्बन्धी ऐन २०७५’ मा टेलिफोन, खाजा, पुस्तक–पत्रपत्रिका, इन्टरनेट, अनुगमन, खानेपानी–बिजुली महसुल, सरसफाइ, अतिथि सत्कार, यातायातलगायत ११ शीर्षकमा मासिक भत्ता लिन पाउने व्यवस्था छ, तर पारिश्रमिक लिन पाइँदैन।

तर महानगरका जनप्रतिनिधिले भने मासिक पारिश्रमिक शीर्षकमा बैंकमार्फत भुक्तानी लिएपछि उच्च अदालतमा रिट परेको थियो। प्रदेश सरकारले बनाएको ऐनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिहरूका लागि भिन्दाभिन्दै सुबिधाको व्यवस्था गरिएको छ।

बैठक भत्ताबाहेक महानगरका प्रमुख भीम पराजुलीले महिनामा ४६ हजार, उपप्रमुख इन्दिरा कार्कीले ४३ हजार, वडाध्यक्षले जनही २९ हजार ६ सय, कार्यपालिका सदस्यले १६ हजार ६ सय र वडा सदस्यले १३ हजार १ सय रुपियाँ पाउँदै आएका छन।

तर अदालतमा पेस भएको गत साउन महिनाको तलब बुझेको भरपाईमा विराटनगर महानगरपालिकाका प्रमुखका नाममा मासिक पारिश्रमिक शीर्षकमा ३३ हजार रुपियाँ र स्थानीय सुबिधा शीर्षकमा २५ हजार स्थानीय सुबिधा बैंकको खातामा पठाएको देखिन्छ।
जनप्रतिनिधिले पारिश्रमिक र स्थानीय सुबिधा लिँदा महानगरमा मासिक १६ लाखभन्दा बढी आर्थिक भार परिरहेको छ।