राजधानीमा स्कुल बस दुर्घटना २२ विद्यार्थी घाइते

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

स्वीजरल्यान्ड पार्कमा वनभोज खाएर फर्कंदै गरेको एउटा स्कुल बस दुर्घटना हँुदा २२ विद्यार्थीसहित २५ घाइते भएका छन्।
सामाखुसीको कान्तिपुर अंग्रेजी माध्यामिक विद्यालयबाट वनभोज गएका विद्यार्थी फर्कने क्रममा हसनटारको कंकाली भन्ने ठाउँमा बस दुर्घटना हुँदा ती विद्यार्थी घाइते भएका थिए।

बा३ख १८३३ नम्बरको बस अनियन्त्रित भई एउटा घरमा ठोक्किन पुग्दा ती विद्यार्थी घाइते भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो।

ससाना बालबालिका बोकेको उक्त बसले एउटा स्कुटर मोटर साइकललाई ठक्कर दिएर एउटा घरमा गएर ठोक्किएको थियो। घाइते भएका बालबालिकाको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

२ वटा बसमा १ सय ६० जना विद्यार्थीलाई हालेर लगेको र बढी विद्यार्थी बोकेको कारण पनि बस दुर्घटनामा परेको हुन सक्ने स्थानीयले बताएका छन।

दुर्घटनापछि सँगै रहेको पछिल्लो बसका विद्यार्थी रोएर उक्त बसमा आउन नमानेपछि प्रहरीले भ्यानमा हालेर उद्धार गरेको थियो। घाइतेमध्ये केही बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

दुर्घटनापछि अभिभावक आक्रोशित हँुदै स्कुल र अस्पताल पुगेका थिए। उनीहरूले स्कुलको लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन्।