शान्ति सुरक्षामा आँच आउन नदिन निर्देशन

0
Shares

काठमाडौं, (नेस)।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सरकारबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयलाई समेटेर ‘भिडियो कन्फरेन्स’मार्फत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई निर्देशन दिइएको छ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलको कामकारबाही सम्पादनका क्रममा द्विविधारहित ढंगले परिचालित रही संगठनलाई प्राप्त जिम्मेवारी इमान्दारितापूर्वक व्यावासायिक भइ कुशलताका साथ निर्वाह गर्न तथा परिणाममुखी कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो।

उहाँले संगठनबाट भएका नीति निर्देशनहरूबारे स्मरण गराउनुको साथै फिल्ड लेबलमा देखिएका कमिकमजोरी औल्याउँदै त्यसमा सुधार गरी अगाडी बढ्न स्पष्ट निर्देशनसमेत दिनुभयो।

कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्ने कुरा संगठनले आदेश एवं परिपत्रका माध्यमबाट विगतमा स्पष्ट पारिसकेको स्मरण गराउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिइएको दायित्व निर्वाहको क्रममा नागरिकले महसुस गर्ने ढंगले उत्कृष्ट कार्यसम्पादन गर्न तथा सीमा अपराध नियन्त्रण, सीमा सुरक्षा, सीमाको उचित व्यवस्थापनलगायतका विविध विषयहरूमा सधैं उच्च मनोबलका साथ क्रियाशील रहन निर्देशन दिनुभयो।

संगठनका विभिन्न युनिटहरूले उत्कृष्ट कार्यसम्पादन गरिरहेकै बीच यदाकदा सशस्त्र प्रहरी कर्मचारीको कार्यशैलीलाई लिएर गुनासोसमेत प्राप्त भएको तर्फ ध्यानाकर्षण गराउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनै गुनासो नहुने गरी जनचाहना अनुरूपको कार्यशैली अपनाई कार्यसम्पादन गर्न चेतावनी दिनुभयो।

उहाँले अझै पनि सुधार गर्नुपर्ने केही विषयहरू रहेको बताउनुहुँदै संगठनले भ्रष्टाचार तथा मानवअधिकार हनन् एवं लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाइका साथ कार्यान्वयन गरिरहेको कुरासमेत उल्लेख गर्नुभयो। सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिएमा कारबाही गरिने प्रस्ट पार्नुभयो।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्पराम कसी, नारायणबाबु थापा र रामशरण पौडेलले शान्ति सुरक्षा, अवैध हातहतियार नियन्त्रण, सीमा अपराध नियन्त्रण, बोर्डर आउट पोस्ट स्थापनालगायत संगठनका कार्यक्षेत्र भित्रका विविध विषयवस्तु तथा संगठनबाट भए गरेका प्रशासनिक कार्य एवं प्रशिक्षण कार्यलगायतका विविध विषयमा उत्कृष्ट कार्यसम्पादन गर्न मातहत बाहिनीपतिलाई स्पष्ट पार्नुभएको थियो।