बालसेवाको व्यवस्थापन समितिमा मानन्धर

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौंको झोछेस्थित बालसेवा माध्यमिक विद्यालयमा शिक्षासेवी कृष्णभक्त मानन्धरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।

प्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्य सचिवमा अंगुरकुमार दाहालका अनुसार काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनको प्रमुख आतिथ्यमा बसेको अभिभावकको भेलाले मानन्धरको अध्यक्षतामा पाँच सदस्यीय समितिको चयन गरेको हो।

शिक्षासेवी मानन्धरले २०१३ सालमा स्थापित सो विद्यालयमा चार दशक लामो अवधिसम्म शिक्षक तथा प्रधानाध्यापक भएर सेवा गर्नुभएको थियो। समितिमा समाजसेवी रामप्रसाद मानन्धर, शिक्षासेवीद्वय गीता मानन्धर र उत्तरा मानन्धर पनि निर्वाचित हुनुभएको छ।

सोही भेलाले रिजेन शाहीको अध्यक्षतामा विद्यालय अभिभावक संघको पनि गठन गरेको छ।सो समारोहमा वडाध्यक्ष महर्जनले निर्वाचित पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै विद्यालयको भौतिक उन्नतिका लागि वडा कार्यालय सहकार्य गर्न सदा तत्पर रहेको जानकारी गराउनुभयो।

कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष मानन्धर, विद्यालय निरीक्षक तारापति खरेल, प्रधानाध्यापक दाहाल र स्रोतव्यक्ति कृष्णबहादुर लुइँटेलले पनि सम्बोधन गर्नुभएको थियो। अभिभावक भेलामा उपस्थित पाहुनालाई शिक्षक मञ्जु पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा विद्यालयका संस्थापक प्रयागराजसिंह सुवालले पनि नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो।