बौद्ध परियति शिक्षाका लागि कामपाद्वारा २३ लाख सहयोग

0
Shares

काठमाडौं, (नेस)।

बुद्ध दर्शन र ज्ञानसम्बन्धी औपचारिक पढाइ नेपाल बौद्ध परियति शिक्षाको लागि काठमाडौं महानगरपालिकाले २३ लाख ६५ हजार रुपियाँ सहयोग गरेको छ।

राजधानीको विश्व शान्ति विहारमा आयोजित एक समारोहका बीच सो रकम हस्तान्तरण गरिएको हो। सो अवसरमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।

सो समारोहमा परियति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले गत वैशाखमा सम्पन्न दीक्षान्त समारोहमा प्रतिबद्धता व्यक्त गरेबमोजिम महानगरपालिकाले सो सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो।

२२ जिल्लाका १ सय १९ केन्द्र, विद्यालयमा सञ्चालन भइरहेको सो शिक्षामा वर्षेनी ५ हजार जनाले भगवान बुद्धको ज्ञान, दर्शन विविध पक्षका बारे अध्ययन गरिरहेका छन्। यो शिक्षाको शुरूआत २०१९ सालमा भएको थियो। यस कार्यमा सो सहयोगले शिक्षाको विस्तारमा टेवा पुर्याउने पनि अखिल महासंघका अध्यक्ष भिक्षु मैत्रीको भनाइ रहेको छ।

सो अवसरमा महानगरपालिकाका मेयर शाक्यले परियति शिक्षाले शान्ति स्थापना, आध्यात्मिक र नैतिकवान, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादनमा पुर्याएको योगदानलाई कदर स्वरूप सहयोग प्रदान गरिएको बताउनुभयो। परियति शिक्षाले बुद्ध धर्म संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि मेयर शाक्यको भनाई रहेको छ।

महानगरपालिकाले यस वर्ष धर्मकीर्ति विहारलाई ५ लाख रुपियाँ बुद्ध विहार पुनर्निर्माण गर्न १ करोड रुपियाँ र अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको धर्महल निर्माणको लागि ७० लाख रुपियाँ प्रदान गरिसकेको छ।