बाल मृत्युदर घटेपनि नवजात शिशु मृत्युदरमा कमी आएन ?

0
Shares

नयाँ बर्ष कसरी मनाउने ठ्याक्कै यसरीनै मनाउनुपर्छ भन्ने कही कतै उल्लेख गरिएको हुन्न । कसैले नाँचगान, खानपिन, साथीभाईसँगको भेटघाट, दुःखसुख साटासाट गरेर मनाउँछन् भने कसैले आफ्ना अघिल्लो बर्षको अधुरो काम सम्पन्न गरेर मनाउँछन् ।

तर बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था युनिसेफले भने नयाँ बर्ष सन् २०२० जनवरी १ मा विश्वमा कति नवजाँत शिशुको जन्म हुन्छ र उनीहरूको जन्मदिनको बिशेषताका बारेमा अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेर मनायो ।

युनिसेफले सार्वजनिक गरेको रिपोर्ट अनुसार नयाँबर्ष जनवरी १, २०२० का दिन विश्वभर ३ लाख ९२ हजार ७८ शिशुले जन्म लिने अनुमान गरिएको छ । जसमा नेपालमा १ हजार ५ सय ६७ शिशुले जन्म लिनेछन् ।

भारतमा भने विश्वमै ठूलो संख्यामा ६७ हजार ३ सय ८५ शिशुले जन्म लिने अनुमान युनिसेफले गरेको छ ।प्रत्येक दिन सबै भन्दा बढी नवजात शिशु जन्मने देशहरूमा भारत, चीन, नाइजेरिया, पाकिस्तान इन्डोनेसिया, युएसए, कंगो र इथियोपिया सहित ८ वटा मुलुक रहेको पनि युनिसेफको रिपोर्टमा उल्लेख गरिएको छ ।

नयाँ बर्षको पहिलो दिन चीनमा करिब ४६ हजार र इथियोपियामा साढे ८ हजार शिशुले जन्म लिने अनुमान छ । यो कुल नयाँ बर्षको पहिलो दिनको जन्ममा करिब ५० प्रतिशत हुनआउँछ ।

दक्षिणी प्रशान्त क्षेत्र ओसिनियामा अवस्थित फिजीमा जनवरी १ मा जन्म लिएका शिशु सन् २०२० को विश्वकै जेठो बनेको दाबी युनिसेफले गरेको छ । त्यसैगरी सुदूर पश्चिमको संयुक्त राज्य अमेरिकामा मंगलबार जन्मिएका शिशु भने २०१९ को सबैभन्दा कान्छा मानव भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

युनिसेफले प्रत्येक जनवरी १ (नयाँवर्ष) मा जन्मिने शिशुका लागि उत्सव मनाउँछ । तर यति धेरै संघसंस्था, स्वास्थ्य केन्द्र अस्पताल, स्वास्थ्यकर्मीहरू र विश्वकै ध्यान नवजात शिशुहरूको मृत्युदर कमी ल्याउनेमा पुग्न नसकेको होकि भन्ने प्रश्न उब्जिन थालेको छ ।

जति पनि योजना, परियोजना आएपनि नवजात शिशुको मृत्युदरमा कमी आउँन नसक्नुको मूल कारण अहिलेसम्म पत्ता नलाग्नुलाई भने युनिसेफ जस्ता बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका संस्थाहरूले बिशेष प्राथमिकताका साथ अनुसन्धान गर्नुपर्ने नेपाल जस्ता गरिबीको रेखामुनी रहेका मुलुकहरूका बासिन्दाको पुकारा अहिले सम्म जस्ताको तस्तै छ ।

युनिसेफकै रिपोर्टमा उल्लेख भए अनुसार नवजात शिशुमृत्युदर, बालमृत्युदर तथा मृतजन्म विश्व स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेकोछ ।सन २०१८ मा विश्वका २५ लाख नवजात शिशुले जन्मेको महिनादिन नपुग्दै मृत्युवरण गरेका छन् ।

त्यसको करिब एकतिहाइ अर्थात् करिब ८ लाख शिशुले जन्मेकै दिन संसार छोडेका छन् । यो जीवित जन्मको मात्र तथ्यांक हो । शिशुमृत्युमा विशेषगरी समय नपुगी जन्म, सुत्केरी हुँदाका बेलाको जटिलता, सेप्सिसलगायतको संक्रमण प्रमुख कारण रहेको पाइएको जनाएकोछ ।

यसका साथै हरेक बर्र्ष करिब २५ लाख शिशु मृत जन्मिन्छन् । पछिल्ला ३ दशकमा बाल मृत्युदर घटाउनमा महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि नवजात शिशुको हकमा भने आशातीत प्रगति हासिल गर्न सकिएको छैन ।

पछिल्लो समय ५ बर्ष सम्मका बालबालिकाको मृत्युदरमा आधा कमी आएको रिपोर्ट सार्वजनिक भैरहँदा नवजात शिशुमृत्युदरमा भने यो सफलता हासिल हुन सकेको पाइन्न ।

बालमृत्यु न्यूनीकरणमा तीब्र गतिमा प्रगति भैरहँदा नवजात शिशुमृत्यु घटाउनमा सुस्तता छाएकै कारण नवजात शिशुको मृत्युदर बढेको रिपोर्टमा
उल्लेख गरिएकोछ ।