ओली–प्रचण्ड भेट: सभामुखमा सहमतिको खोजी

0
Shares

काठमाडौं, (नेस)।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुखबारे निर्णय लिन नसक्दा संघीय संसदको बैठक बस्न सकेको छैन। नेकपाभित्र आन्तरिक विवादको कारण सभामुख चयन हुन नसक्दा संसद बैठक सूचना टास गरेर स्थगित हुँदै आएको छ। आगामी पुस २७ गते संसदको बैठक बोलाइएको छ। तर नेकपाले अझै सभामुखको टुंगो लगाउन सकेको छैन्।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्तामा पनि सहमति हुन नसकेको हो। दुई अध्यक्षबीच सोमवार पनि प्रधानमन्त्री निवास वालुवाटारमा सभामुख चयनबारे छलफल भएको थियो।

उक्त छलफलमा पनि ओली संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ र प्रचण्ड अग्नी सापकोटालाई सभामुख बनाउने अडानमै रहनुभयो।

प्रचण्ड–देउवाबीच भेट

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ।

सभापति देउवासँग छलफलका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल सोमवार देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो। सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा छलफल भएको प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो।

शान्ति प्रक्रियाका अरू काम पूरा भए पनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजबिनका विषयमा ठोस उपलब्धि हुन सकेको छैन।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ। प्रचण्ड र देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो।