मातृभाषा पत्रकारिताको कार्ययोजना तय

0
Shares

काठमाडौं, (नेस)।

नेवाः पत्रकार राष्ट्रिय दबूले प्रेस स्वतन्त्रताको रक्षा गर्दै समावेशी सञ्चार र मातृभाषाको पत्रकारिता विकास गर्ने नीति, योजना र कार्यक्रम अघि सारेको छ।

पत्रकार राष्ट्रिय दबूको चितवन शाखाको संयोजनमा भएको केन्द्रीय कमिटीको चितवनमा भएको पहिलो बैठकले सो नीति र योजना अघि सारेको हो।

पुस १८, १९ र २० गते भएको बैठकमा अध्यक्ष सुरजवीर बज्राचार्यले पेश गर्नुभएको कार्ययोजनामा विस्तृत छलफल गरी पारित गरेको थियो।

पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र नेपाली पत्रकारिताको दायरा विस्तारको लागि समावेशी सञ्चार अवधारणालाई कार्ययोजनाको मुख्य केन्द्रबिन्दुमा राखिएको छ।

सो कार्ययोजनामा नेपालको संविधानको भावना अनुरुप नेपाल समाजको विविधता प्रतिविम्बि हुने समावेशी सञ्चार सम्बन्धी बहस, छलफल अघि बढाउने भनिएको छ।

त्यसैगरी नेपालमा बोलिने प्रत्येक भाषा राष्ट्रभाषा भएको संवैधानिक मर्म अनुरुप मातृभाषाको पत्रकारिताको व्यावसायिकताको लागि मातृभाषा पत्रकारिता दिवस र मातृभाषा पत्रकारिता सम्मेलन गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।

पत्रकार राष्ट्रिय दबूले आफ्नो कार्ययोजना कार्यान्वयनका साथै प्रेस तथा र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको संघर्षमा नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र अन्य पत्रकार सम्बद्ध संघसंस्था सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी गराउनुभयो।