काठमाडौं, (नेस)।
नेपालमा अवैध गतिविधि गर्दै आएका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालबाट निकाला गरिने भएको छ। तिनीहरूलाई भोलि बुधबार एयर चाइनाको विमानबाट चीन लैजाने तयारी भएको एक उच्च सरकारी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
नेपाल सरकारले सामान्य कारबाही गरी उनीहरूलाई चीनतर्फ पठाउने रणनीतिअन्तर्गत चीनमै पठाउन लागेको हो। चीन सरकारले उहीं लगेर कारबाही गर्नेछ।
नेपाल प्रहरीले तिनीहरूले चीनका विभिन्न वित्तीय संस्था ह्याक गर्ने, चीनमा रहेका एकल धनाढ्य महिलाहरूलाई मायाजालमा पार्दै मोटो रकम लिने गरेको रहस्य फेला पारेको छ।
नेपाल सरकारले उनीहरूलाई अब नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गर्ने र सोही बहानामा चीनले आफ्ना नागरिकलाई फिर्ता लैजाने भनिए पनि उनीहरूमाथि चीनमा भने कडा कारबाही गर्ने भएको छ।
पक्राउ परेका ती चिनियाँमध्ये ६७ जनासँग ट्राभल डकुमेन्ट नै नभएको र ५५ जनासँग पासपोर्ट मात्र भएकाले उनीहरूलाई अब नेपाल आउन नपाउने गरी निकाला गर्न लागिएको अध्यागमन कार्यालयले जनाएको छ।
नेपालमा यसरी अवैध गतिविधि गर्ने चिनियाँको संख्या ३ हजारभन्दा बढी रहेको संकेत पाएपछि प्रहरीले यसबारे खोजीकार्य जारी राखेको जनाएको छ।











प्रतिक्रिया