काठमाडौं विश्वविद्यालयमा सुरुङ, जिओ ल्याबको सपना…


न्युज अफ नेपाल, काठमाडौँ ।

सन् २०१२ को मे २८ देखि जून ४ सम्म डा. सुरेशराज शर्माको नेतृत्वमा डा. भद्रमान तुलाधर, डा. बिमप्रसाद श्रेष्ठ र मैले काठमाडौँ विश्वविद्यालयमा प्राविधिक तालिम केन्द्र (टेक्निकल ट्रेनिङ सेन्टर — टीटीसी) को स्थापनाका सन्दर्भमा कोरियाको भ्रमण गर्यौँ । द्रुत गतिको ट्रेन र सडकयात्राबाट हामीले कोरियाका विभिन्न ठाउँको भ्रमण गर्यौँ । कोरियामा हामीले यात्रा गरेका थुप्रै सुरुङ तथा सडक सन्जालको विकासले हामीलाई आकर्षित गरायो । नेपालमा पूर्वाधारको विकासको नीति के हुन सक्छ भनेर डा. सुरेशराज शर्मा हामीसँग छलफल गर्दै हुनुहुन्थ्यो ।

हाइड्रोपावर र सडक सन्जालका लागि नेपालको भूबनावट अवसर र चुनौती दुवै हो भनेर हामीले छलफल ग¥याँै । हामीले एकाबिहानै द्रुतगतिको ट्रेनबाट यात्रा गरिरहँदा सबै कोरियन यात्रीहरू सुतिरहेका थिए र रेलका कर्मचारीले हामीलाई पनि शान्त रहनका लागि आग्रह गरेका थिए । त्यसैले त्यस अवसरको सदुपयोग गर्दै मैले धुलिखेलका लागि सुरुङको नक्सा कोरेँ र डा. सुरेशराज शर्मालाई देखाएँ ।

यसबाट उहाँ प्रभावित हुनुभयो र यसको विकासका लागि लागिपर्न निर्देशन दिनुभयो । कोरियाबाट फर्केर यसका लागि थोरै काम गरिसकेपछि मैले नेपाली विज्ञहरूसँग छलफल गरेँ र मिश्रित प्रतिक्रिया पनि पाएँ । कसैले भने ‘यो धेरै महँगो हुने भएकाले सम्भव नहोला’, कसैले भने ‘शिक्षाविद्हरूले देखेको यो सपना कुनै दिन सम्भव हुन पनि सक्छ वा दिवास्वप्न मात्र पनि हुन सक्छ ।’

मेरो प्रारम्भिक योजना विद्यार्थीहरूका लागि शैक्षिक सुरुङको निर्माण गर्नु थियो, तर पछि जिओ ल्याबलाई पनि समावेश गराउने गरी त्यसलाई अझ ठूलो बनाउन योजना हामीले बनायौँ । युद्ध भइहालेको खण्डमा अरू भवनहरूसँग जोडिनका लागि एनटीएनयूको वाटर पावर ल्याबमा सानो सुरुङ भएको मैले देखेको थिएँ । त्यसैले लागत खर्चलाई त्यति महàव नदिने हो भने सुरुङ बनाउन हामीलाई निकै प्रेरणा मिलेको थियो ।

नेपालमा हाइड्रोपावर, सडक र रेलको विकास गर्न जिओटेक्निकल कार्यक्रमको आवश्यकता रहेको कुरा धेरैपटक प्रा. इन्गे योहान्सनले मलाई भनिसक्नुभएको थियो । हाइड्रोपावरको विकास र व्यवस्थापनमा हाइड्रोपावरको अन्तर्राष्ट्रिय केन्द्र (आईसीएच) को पाठ्यक्रममा उपस्थित हुने क्रममा सन् १९९७ मा एनटीएनयूको रक इन्जिनियरिङ विभागसँग मेरो परिचय गराइयो ।

सो पाठ्यक्रम (आईसीएच) का निर्देशक योर्डिस ख्रोगका श्रीमान् प्रा. स्टेयन ख्रोग रक इन्जिनियरिङ विभागका प्राध्यापक तथा डिन हुनुहुन्थ्यो । पछि म पीएचडीको विद्यार्थी छँदा स्टेयन र योर्डिस मेरा स्थानीय अभिभावकजस्तै हुनुहुन्थ्यो । मैले पीएचडी गरिरहेकै बेला डा. कृष्ण पन्थी र डा. ज्ञानेन्द्रलाल श्रेष्ठ पनि रक इन्जिनियरिङ विभागमा पीएचडी गर्दै हुनुहुन्थ्यो । हामी फरक–फरक विधाका भए पनि एक–अर्काको क्षेत्रका अवसर तथा चुनौतीहरूका बारेमा छलफल गर्ने गथ्र्यौं ।

मैले हाइड्रोलिक टर्बाइनमा सेडिमेन्ट असरका विषयमा काम गरिरहेको हुँदा बालुवा र खनिजमा पनि मेरो रुचि थियो । त्यसैले जिओ ल्याबलाई समावेश गरेर काठमाडौँ विश्वविद्यालयमा सुरुङ निर्माणको योजना बनाइसकेपछि सो विषयमा प्रा. इन्गे योहान्सनसँग मैले छलफल गरेँ । सो अवधारणाको प्रशंसा गर्दै उहाँले इमेलमार्फत प्रतिक्रिया र सल्लाह दिनुभएको थियो ।

‘जिओटेक्निकल इन्जिनियरिङ ल्याबोरेटरी — जिओल्याब’ मा लगानीसम्बन्धी निर्णय गर्न व्यावसायिक योजना तयार पार्नका लागि नर्वेजियन दूतावास काठमाडौँले गैरसरकारी संस्था पीईईडीए (पीडा) लाई आर्थिक सहयोग गरेको थियो । राष्ट्रिय संस्थाका रूपमा रहने जिओ ल्याबको उद्देश्य ‘जिओटेक्निकल सर्भिस’ मा ज्ञानको विकास गर्नु र जमिनभित्रका संरचनाहरूमा ‘जिओटेक सर्भिस’ प्रदान गर्नु हो ।

जिओ ल्याबले परिकल्पना गरेका सेवाहरू इन्जिनियरिङमा भूवैज्ञानिक अन्वेषण र अनुसन्धान, प्राकृतिक अवस्थामा चट्टानको शक्ति र दबाबको मापन तथा मूल्याङ्कन, चट्टानको मेकानिकल व्यवहारको प्रयोगशाला परीक्षण तथा सम्बन्धित विधामा अनुसन्धान र तालिम आदि थिए । कावि धुलिखेल परिसरमा प्रयोगशालाको प्रस्ताव गरिएको थियो । त्यसका लागि बुटवल पावर कम्पनी (बीपीसी), त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ इन्स्टिच्युट र नेपाल विद्युत प्राधिकरण लगायत नयाँ सेयरधनी (१२.३ प्रतिशत) का रूपमा काठमाडौँ विश्वविद्यालयलाई प्रवेश गराई हाइड्रो ल्याबको संस्थागत मोडेलमा आएका परिवर्तनहरूसँगै जिओ ल्याबलाई हाइड्रो ल्याबको स्वायत्त अंशका रूपमा प्रस्ताव गरियो ।

यसका लागि ‘पीडा’ ले काठमाडौँ विश्वविद्यालयलाई आधिकारिक रूपमा आग्रह ग¥यो र काविको कार्यकारी परिषद्ले हाइड्रो ल्याबको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै हाइड्रो ल्याब प्रा. लि. को सेयरहोल्डरका रूपमा भाग लिने निर्णय ग¥यो । तर हाइड्रो ल्याबका हालका सेयरहोल्डरहरूको असहमतिका कारणले यो सम्भव हुन सकेन । इनर्जाइज नेपालको आवेदनको तयारीका क्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्दा आर्थिक अभावका कारणले जिओ ल्याबको स्थापनालाई अलग्गै परियोजनाका रूपमा राखियो, तर हाइड्रो ल्याबअन्तर्गत केही गतिविधिहरू भने समावेश गरियो ।

काठमाडौँ विश्वविद्यालयको मूल क्याम्पस सानो पहाडजस्तो ठाउँमा अवस्थित छ । यसले भूमिगत जिओ ल्याबको योजना तयार पार्न विशेष अवसर प्रदान गरेको छ । कुनै पनि इन्जिनियरिङ क्याम्पसका लागि यो अद्वितीय अवसर हो । काठमाडौँ विश्वविद्यालय नेपालको मध्य हिमाली क्षेत्रमा अवस्थित छ । त्यसैले जिओ ल्याबका उपकरणहरू राख्नका लागि फराकिलो ठाउँ भएको गुफा वा सुरुङको निर्माण गर्नु निकै चुनौतीपूर्ण कार्य हो । त्यस सुरुङको लम्बाइमा नेपालमा भएका विभिन्न खालका सुरुङको अंशहरूजस्तो हुने कल्पना गरिएको छ ।

श्री टोरे सेईले काठमाडौँ विश्वविद्यालयमा छँदा नेपालका विभिन्न हाइड्रोपावर परियोजनाका अनुभवहरू सँगाल्नुभएको थियो । सिभिल इन्जिनियरिङका शिक्षक श्याम खड्का इन्जिनियरिङ जिओलोजीमा निकै उत्साही हुनुभएको थियो । उहाँहरूले प्रारम्भिक डिजाइन र सर्वेक्षण गरिसक्नुभएको थियो । उहाँहरूको योजनाअनुसारको पहिलो भौगर्भिक अवलोकन भवन नं. ११ बाट ३० मिटर उत्तरपट्टि मूल भौगर्भिक सडकलाई जोड्न पैदल मार्गसँगै गरियो । त्यहाँका चट्टानहरूको विश्लेषण पनि गरियो । चट्टानको रक सपोर्ट डिजाइनका लागि रक फेलर मेकानिजमको अध्ययन गरियो । ‘नर्वेजियन मेथड अफ टनेलिङ’ तथा नेपालका खिम्ती र अरू थुप्रै परियोजनाका साना व्यास आकारका सुरुङहरूको अनुभवबाट प्रारम्भिक रक सपोर्ट डिजाइन गरियो । सानो भूभागहरूको उत्खनन र प्रवेशद्वारको काम भइसकेको थियो ।