काठमाडौँ ।
यस वर्षको विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार रङ्गकर्मी एवं हाँस्यकलाकार रमेश केसी मट्टारेलाई आज प्रदान गरिएको छ । विसं २०२७ देखि नेपाली नाट्य क्षेत्रमा क्रियाशील मट्टारेले रङ्गमञ्च तथा नाट्य क्षेत्रमा पु¥याएको कदर गर्दै विष्णुभक्त तारादेवी स्मृति गुठीले रु २० हजार नगदसहित पुरस्कार प्रदान गरेको हो ।
गुठीका अध्यक्ष डा कमल फुयाँलले आफ्ना पिताले जीवनको सम्पूर्ण समय नेपाली रङ्गमञ्चमा समर्पित गर्नुभएका कारण उहाँकै नामबाट नेपाली रङ्गमञ्चमा लामो सयमदेखि काम गर्दै आइरहेका रङ्गकर्मीलाई नियमित पुरस्कृत थालिएको बताउनुभयो । कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारी संयोजक रहेको पुरस्कार छनोट समितिले दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलाकारितामा क्रियाशील रहेकामध्येबाट पुरस्कृत व्यक्तित्व चयन गरेको थियो ।
हरेक वर्ष जनकलाकार फुयाँलको निधन भएकै दिन पुस १९ गते स्मृति दिवसका अवसर पारेर सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कलाकार राजेन्द्र गड्तौला र लक्ष्मणसिंह बस्नेतलाई सो पुरस्कार प्रदान गरिएको थियो । गुठीले रु २० हजार राशिकै तारादेवी नवनारी छात्रवृत्ति सुविना खड्कालाई प्रदान गरेको छ । विसं २०७३ पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सत्यमोहज जोशीद्वारा लिखित नाटक ‘यज्ञवल्क्य’ मा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै फुयाँलको निधन भएको थियो । फुयाँल विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा काठमाडौँ महानगरपालिका–६ मा तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडा सदस्यमा निर्वाचितसमेत हुनुभएको थियो ।
रासस
प्रतिक्रिया