सानैमा स्कूल छोडेका गाड्जी नेपालमा दुर्गममा स्कुल बनाउदै


दुर्गाप्रसाद शर्मा, पर्वत ।

दक्षिणी रुसको एउटा गाउँमा एकल आमाबाट जन्मिएका इमान गाड्जी सानैमा बिद्यालय छाड्न बाध्य हुनुभयो ।

गर्भमा हुर्कदै गर्दा बाबुले आमालाई छाडेपछि दुःख, अभाब र पिडा बोकेरै धर्तीमा पाईला टेक्नुभयो । बाल्यकालमा शिक्षा मात्रै होइन दैनिक रुपमा मिठो मसिनो खान र एक निद्रा राम्रो संग निदाउन नपाए पनि १९ बर्ष नपुग्दै अर्बपति हुनुभएको छ । शिक्षा, अभाब र पिडालाई संघर्षबाट जित्नुभएका गाड्जीले नेपालका दुर्गम गाउँहरुमा बिद्यालय भवन निर्माणको अभियान थाल्नुभएको छ ।

एउटा सामान्य परिवारमा जन्मेर पनि संघर्षबाट सानैमा अर्बपति बन्नुभएका गाड्जीले पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा रहेको पञ्चकोशी माध्यामिक बिद्यालय लगायतका बिद्यालयहरुमा भवन निर्माणमा सहयोग गर्नुभएको छ। बिद्यालयमा भवनको अभाब भएको बेला गाडजीको ग्रो युयर एजेन्सीले पाहार ट्रष्ट पोखरा मार्फत सहयोग गर्नुभएको छ ।

उहाँको सहयोगमा पञ्चकोशी माबिमा ६ कोठे भवन निर्माण भैरहेको छ भने छिमेकी बागलुङ्गको ताराखोला गाउँपालिका वडा नं १ भुस्कात स्थित जनप्रेम माध्यामिक बिद्यालयमा पनि ८ कोठे भवन बनिरहेको छ । ‘मैले जन्मदै अभाब र पिडामा बिताउँदा बिद्यालय शिक्षा पुरा गर्न समेत कठिन भयो’ उहाँले भन्नुभयो ‘अब मैले अरु धेरै बालबालिकालाई सहज शिक्षा दिनका लागि सहयोग अभियान चलाउँछु’

नेपालका दुर्गम गाउँहरुमा बिद्यालय भवन बनाउने अभियान थाल्नुभएका गाड्जीले यस बर्ष मात्रै १ करोड ५० लाख रुपैया खर्च गरिसक्नु भएको छ । पाहार ट्रष्ट मार्फत अन्य बिद्यालयहरुमा पनि भवन बनाउनका लागि सहयोग गर्न गाड्जी इच्छुक रहेकाले छलफल भैरहेको पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग बताउनुहुन्छ । ‘अहिले दुई वटा बिद्यालय भवन बनिरहेका छन’ उहाँले भन्नुभयो ‘अन्य बिद्यालय भवन बनाउनका लागि छलफल भैरहेको छ , छिट्टै सहमति हुने बिश्वास छ’

१९ बर्षे अर्बपति इमान गाडजीको जीवन धेरै संघर्षमा बितेको छ । रुसमा जन्मनुभएका गाड्डी जन्मनु अगाडि नै उहाँको जड्याह बुवाले आमालाई छोडिसकेका थिए, त्यसले गर्दा उहाँको बाल्यकाल दुःखमा बितेको थियो । बाल्यकाल हजुरआमाको काखमा नै बित्यो । उहाँ करिब १२ वर्षको हुँदा उहाँकी आमाले एक बेलायती पुरुष संग मस्कोमा बिबाह गरेपछि उहाँपनि आमा संगै बेलायतको लण्डनमा बस्न थाल्नुभएको थियो ।

एउटा गाउको साधारण घर, जहाँ चर्पी गर्न पनि घर बाहिर आउनुपर्ने अबस्थामा बसिरहनुभएका इमान र उहाँकी आमा एक्कासी लण्डनको आधुनिक सुबिधा सम्पन्न घरमा बस्ने अवसर उहाँको सौतेलु बुवाबाट मिलेको थियो । त्यतीमात्र हैन इमानले लण्डनको एउटा राम्रो बोडिङ्ग स्कूलमा पनि पढ्ने मौका पाउनुभयो तर यो अवस्था धेरै समय रहेन ।

इमान १४ बर्षको हुँदा, उहाँकी आमा र सौतेलु बुवाको बीचमा बैबाहिक सम्बन्ध टुट्यो अनि फेरि इमान र उहाँकी आमाकी आमाका पुरानै दुःखका दिन शुरु भए । इमानलाई स्कूलको पैसा तिर्न गाह्रो भएपछि शेयर मार्केटमा काम गरेको तर धेरै लगानी डुबेपनि हतोत्साहित नभई अगाडी बढेको बताउनुभयो । एउटा कम्पनीको बिज्ञापन गर्ने जिम्मा पाएपछि उहाँको भाग्य र भबिश्य बदलियो । काम संगै बिद्यालय छाड्नु भएका गाड्जीले बार्षिक १० लाख पाउण्ड भन्दा माथि कमाउँदै आउनुभएको छ ।

एउटा सामान्य परिवारमा जन्मेपनि इमान गाड्जीले १९ बर्ष पुग्दा आफुँले बिद्यालय छाडेको पिडाले शिक्षा क्षेत्रमा केही सहयोग गर्न मन लागेको बताउनुहुन्छ । ‘बाध्यताले मैले बिद्यालय छाडेपनि बिश्वका कुनाकुनामा पुगेर अरु बाबुनानीले शिक्षा लिन कुनै असहज नहोस भनेर थोरै भएपनि सहयोग गर्न चाहन्छु’ उहाँले भन्नुभयो । पाहार ट्रस्ट नेपाल मार्फत इमान र वहाको टिम पहिलो पटक नेपाल आएको अबस्थामा पञ्चकोशी माध्यामिक बिद्यालय आर्थर भब्य स्वागत गरेको छ । बिद्यार्थी, अभिभावकले बाजागाजा, फूलमाला सहित स्वागत गरेका छन ।