रेमिट्यान्स ठग्ने पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

वैदेशिक रोजगार (मलेसिया) रहेका नेपाली गिरोहसँग मिली नक्कली नागरिकता बनाएर विदेशमा बसेका नेपाली कामदारले घरमा रेमिट्यान्समार्फत् पठाएको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाराको कलैया बजारमा रहेका विभिन्न मनी ट्रान्सफरबाट विभिन्न मितिमा पैसा निकालेका रौतहटको गरुडा नगरपालिका–४ बस्ने सुरेन्द्र साह पक्राउ परेका हुन् । उनले कलैया बजारको भरत चोकमा रहेको शिवम् मनी ट्रान्सफरबाट बाराको आदर्शकोतवाल गापा–६ बस्ने वर्ष ३७ का राजकुमार कुशवाहाको नाममा उनको भाइले मलेसियाबाट पठाएको ९५ हजार २ सय रुपियाँ निकाल्न लाग्दा साह पक्राउ परेका हुन् ।

सोधपुछका क्रममा उनले बाराको प्रसौनी गापा–६ बस्ने श्रीरामजी कुशवाहाको नाममा आएको रकम १ लाख मंसिर २३ गते कलैयास्थित एसियन मनी ट्रान्सफरबाट तथा बाराको सिम्रौनगढ नगरपालिका–७ खजानी बस्ने रोशन साहको नाममा आएको ६० हजारसमेत निकालेर ठगी गरेको खुल्न आएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

उनलाई बारा जिल्ला अदालतबाट ठगी मुद्धामा पहिलो पटक ५ दिन म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।