वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष घुस रकमसहित पक्राउ


न्युज अफ नेपाल, कैलाली ।

वन उपभोक्ता समिति अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह एक लाख साठी हजार घुस रकम सहित पक्राउ परेका छन् ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थापा र उपाध्यक्ष सिंह उक्त घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका हुन् ।

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जेसिभी र टेक्टर छोड्न भनी सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा आयोगको कन्चनपुर कार्यालयबाट खटिई गएको टोलीले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख साठी हजार घुस लिएको अवस्थामा वन उपभोक्ता समुहको कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन् ।

आयोगले दुवैलाई नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको जनाएको छ ।