गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडाको ३० लाख सहयोग


न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण जारी राखेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

चितवन पुगेर उपमहानगर मेयर हरिबहादुर महतले निर्माणाधीन रंगशाला अवलोकनपछि रंगशाला निर्माणका लागि ३० लाख सहयोगको घोषणा गर्नुभएको हो । धुर्मुश–सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुन लागेकोले स्थानीय सरकारको हैसियतले सहयोग गर्न लागिएको मेयर महतले बताउनुभयो ।

रंगशाला निर्माण हुँदा हेटौंडाले पनि फाइदा लिने भएकोले सहयोग गर्न लागिएको उहाँको भनाइ छ । यसका लागि हेटौंडासहित देशभरका स्थानीय सरकारको पनि सहयोग आवश्यक रहेको उहाँले औंल्याउनुभयो । सबैले सहयोग गर्दा रंगशाला निर्माणमा सहयोग पुग्ने भन्दै मेयर महतले सहयोगको आह्वान गर्नुभयो । घोषणा गरिएको रकम केही दिनमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । फाउन्डेसन अध्यक्षमा सीताराम कट्टेल (धुर्मुश) र उपाध्यक्षमा कुञ्जना घिमिरे (सुन्तली) रहनुभएको छ ।

देशविदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाएर निर्माण हुने रंगशालाको लागत ३ अर्ब अनुमान छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को उक्त जग्गा कृषि तथा बनविश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई उपलब्ध गराएको थियो ।

मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीलाई स्वागत गर्नेछ । विश्वस्तरीय प्यारापिटमा बसेर खेल हेर्न सकिनेछ । रंगशालामा चार ढोका हुनेछन् । १ सय ३५ मिटर व्यासमा बन्ने रंगशालामा देशविदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लवीको व्यबस्था हुनेछ ।

ठाउँठाउँमा हुने एलईडी स्क्रिनबाट खेललाई नजिकबाट नियाल्न सहयोग पुग्नेछ । स्पेशल फर्डलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन । नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रसारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ ।

यसबाट नेपालको मौलिकताको प्रचार हुनेछ । जसले नेपालको पर्यटन विकासमा ठूलो भूमिका हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ यो ।

तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि २०७६ वैशाख २७ गते १३ सदस्यीय खेलकुद समिति गठन गरिएको थियो ।