लन्डन, (एजेन्सी)।
इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटीले इंग्ल्यान्डमा जारी एफए कप प्रतियोगिताको चौथो चरणमा स्थान पक्का गरेका छन्।शनिबार राति भएको खेलमा सिटीले चौथो डिभिजनको क्लब पोर्ट भेलमाथि ४–१ ले तथा लेस्टर सिटीले पनि विगान एथ्लेटिकलाई २–० गोलअन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो।
सिटीको सहज जितमा अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुइरो, हारवुड वेलिस र फि फोडेनले गोल गरेका थिए। यता पोर्ट भेलका टोम पोपीले एक गोल फर्काए। इत्तिहाद स्टेडियममा भएको खेलको १९औं मिनेटमा अलेक्सान्डर जिन्चोन्कोले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाएका थिए। तर, ३५औं मिनेटमा टोम पोपीले गोल गर्दै पोर्ट भेललाई खेलमा फर्काएका थिए।
खेलको ४२औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई खेलमा पुनः २–१ अग्रता दिलाए। त्यस्तै हारवुडले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जिततर्फ अग्रसर गराए। ७६औं मिनेटमा फि फोडेनले गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए।
त्यस्तै लेस्टरको जितमा हार्वे वार्नेसले एक गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो। खेलको १९औं मिनेटमा पिएर्सले आफ्नै गोलपोष्टमा बल छिराएपछि लेस्टरले खेलमा अग्रता लिएको थियो। त्यस्तै खेलको ४०औं मिनेटमा बार्नेसले गोल गरेपछि लेस्टर २–० को जित पक्का गर्न सफल भयो।
आइतबारै भएको अन्य खेलमा बर्मिङहमले ब्ल्याकबर्नलाई, पोर्ट्समाउथले फ्लेटवुडलाई र फुलह्यामले एस्टन भिल्लालाई समान २–१ अन्तरले हराउँदा, बर्नलले पिटरब्रोउलाई ४–२ तथा मिलवालले न्यु पोर्टलाई ३–० ले पराजित गरे।











प्रतिक्रिया