कानुन कार्यान्वयनमा निर्दयीता अपनाउन आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नागरिकलाई गर्ने व्यवहारमा नम्रता,शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट कारवाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो।

डिआइजी पोखरेलले आईतबार विहान महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा सो कुरा बताउनु भएको हो। डिआईजी पोखरेलले राजधानीको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनु भयो।

नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिकसंग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुदै आएको स्मरण गराउदै आम नागरिक संगको व्यवहारमा शिष्टता र नम्रता अपनाउन पनि निर्देशन दिनु भयो।

प्रत्येक दिन साझ सिनियर अधिकृतहरूले जवान हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिनु भयो।