हाम्रो मुलुकका “बाङ्गाटिङ्गा ब्रोहरू”


जब मुलुकमा अशिक्षित मानिस, पढेलेखेका स्वार्थी, अनुशासनहीन कर्मचारी, लालची व्यवसायी, धुर्त दलालजस्ता समूहहरू मौलाइराखेका हुन्छन् तबसम्म मुलुकको द्रुत विकास हुन गाह्रो छ। हेर्दा देश विकास भएको जस्तो देखिन्छ तर व्यवहारमा त्यस्तो हुँदैन।

उदाहरणका लागि मूल्य नियन्त्रण, भ्रष्टाचार, सडक तथा राजमार्ग, सवारी, कम्पोस्ट मल, अस्तव्यस्त शहर आदिलाई हेर्दा राज्यले पहिला यी कुराको विकास गर्नुपर्ने हुन्छ। तर खोइ त यी समस्या जस्ताको तस्तै छन्।

देश चलाउनेहरू त विनातवला र हार्मोनियमको भजन मण्डलमा बसेझैँ सभा गरी राखेका हुन्छन् तर यी सानातिना समस्याको समाधानका लागि किन इच्छाशक्ति जगाउँदैनन् भन्ने कुरा आजसम्म बुझ्न सकेको छैन।

हामीले जुन खराब पक्षहरूको कुरा गर्यौं, यिनीहरूको कारणले गर्दा पनि मुलुकको विकास ढिलो भइराखेको मान्न सकिन्छ। राज्यको सोच खाली व्यापारिक विकास, टुरिस्टको विकास, करको विकास तथा रेमिट्यान्सको विकासमा सीमित छ।

यो आफ्नो ठाउँमा ठीक पनि छ तर जनताका आधारभूत समस्याका समाधान पनि साथसाथै हुनुपर्ने हो। आफ्नो विलासिताको विकास सरकार कहिल्यै भुल्दैन।

आफ्ना लागि औषधि उपचार, भत्ता, भवन, धेरै राष्ट्रसेवक, निर्माण, सवारीजस्ता कुराहरू छिटोभन्दा छिटो रफ्तारमा भइराखेको हुन्छ। जबकि जनमानसका समस्या ज्यूँका त्यूँ छन्, जुन भनिराख्नुपर्ने कुरा होइन। यसमा सबै पक्षले आफ्नो दायित्व बिर्सिराखेका हुन्छन् जस्तो लाग्छ। जसले गर्दा मुलुक अझै लथालिंग देखिन्छ।

एक समय भोक पनि छैन, भकारी पनि छैन भनेझैँ विकास थिएन तर आनन्द थियो। तर आज मानिसमा भौतिक सुविधा हुँदा पनि मन अशान्त र तनावमा बितिराखेको छ। यसका खास कारण देशमा प्रजातन्त्र र संघीयता आएर पनि चित्त नबुझेका कुराहरू धेरै छन्।

अहिले मुलुकमा विकास नभएको होइन तर चित्त बुझ्दो विकास भने छैन। अहिले मानिसहरू सोझो देखिए तापनि बाङ्गाटिङ्गा छन्। चाकडी प्रथा, गलत कमाइ, राम्रो होइन हाम्रो भन्ने सोच आदि कारणले गर्दा सोझा व्यक्ति पनि खराब संस्कारतिर ढल्कँदै गए।

अहिलेको परिप्रेक्ष्यमा सरकार परिवर्तन हुनु आवश्यक छ तर खेद लाग्दो कुरा के छ भने, यिनीहरूले जनताका सुझाव तथा कुराहरूलाई हरसमय बेवास्ता गरिराखेका हुन्छन्।

शायद यही कारणले होला देशमा ऋण भार, जमेको धन उपयोग हुन नसक्नु तथा लगानीको वातावरण बन्न नसकेको हो। एकहिसाबले भन्ने हो भने सरकार स्वार्थी हुनु, शिक्षाको अभाव हुनु, आफ्नो मान्छेबाहेक दक्ष भएकालाई अगाडि राख्न नचाहनु तथा सरकार कडा हुन नसक्नु नै हो।

सधैँ एकपक्षलाई मात्र गाली गर्दा पनि मजा आउँदैन। दोष हामीमा पनि छ। साधारण भाषामा बोल्नुपर्दा हामी अन्यायविरुद्ध धेरै बोल्दैनौं, सहने बानी छ। खाली दालभात खाने फुर्सदमा सरकार तथा नेतालाई गाली गर्ने।

एकहिसाबले देश चलाउने भन्ने कुरा गाह्रो पनि हो, अर्को कुरा हामी आफ्नो घर–घरमा नै हेरौं न, प्रायः एकै परिवारका सदस्यमा पनि महादेवको चारवटा मुकुटजस्तो एकले अरूलाई हेर्न चाहँदैन।

अंश, राजनीति, विवाह तथा गृहिणीका कुरालाई लिएर सधैँ कलह भइराखेको हुन्छ। जब घरको समस्या सुल्झाउन गाह्रो छ भने देशको समस्या सुल्झन झनै गाह्रो हुन्छ।

यस्तो अवस्थामा सबैले आफ्नो दायित्व नभुली मुलुकको समस्याको समाधान गर्ने हो। देशको मूल मान्छे याने कि प्रधानमन्त्री नै कडा, इमानदार तथा सबैको कुरा सुनेर अगाडि बढ्ने हो भने मात्र मुलुक परिवर्तन हुन बेर लाग्दैन।

अहिले देशको एउटा ठूलो समस्या भनेको युवापुस्ता यो देशमा बस्न नचाहनु हो। यसले गर्दा प्रायः घर वृद्धाश्रम भएर गएको देखिन्छ। तैपनि यस्तो अवस्थामा राज्य, अभिभावक, खुद युवापुस्ताले यहीँ नै इलम गर्ने तथा राजनीतिक शिक्षा हासिल गर्ने वातावरण बनाउने हो।

शुरूमा यी कार्य गाह्रो होला तर समयको मागअनुसार ठीक हुँदै जान्छ। खाली सरकारले युवापुस्ताका लागि वातावरण बनाइदिने तथा अभिभावकहरू स्वार्थी नभई युवापुस्तालाई आफ्नै मुलुकमा केही गर्नको लागि हौसला दिने हो।

त्यसपछि यो मुलुक राम्रो हुनेछ भन्ने हाम्रो धारणा हो। यसै सिलसिलामा भन्नुपर्दा प्रत्येक नागरिकले गलतको साथ नदिने, गलत कार्य नगर्ने, देखावा र विलासिताको लागि गलत धन नकमाउने चाहे दिनमा एकछाक खान किन नपरोस्, अनि मात्र यो मुलुक खुद राम्रो हुँदै जानेछ।

– रमेशकेशरी वैद्य,
छत्रपाटी, काठमाडौं