गण्डकीको पर्यटकीय रौनक

0
Shares

नेपाल भ्रमण वर्ष घोषणा गर्नु आफंैमा उपलब्धि होइन। तर यतिचाहिँ भन्नुपर्छ कि समृद्धिको सपना भेट्न र देख्नका लागि यस्तो खालको सोच, उद्देश्य, दृढ इच्छाशक्ति र उद्घोष जरुर थियो र छ। जुन अहिले उद्घोष या प्रयास भएको छ, यो राम्रो कुरा हो।

सरकारले अहिले निर्धारण गरेको २० लाख पर्यटक भित्रिन्छन्। रेमिट्यान्स आकर्षणले बढेको विदेशी मोह रोकिएर आफ्नै गाउँ–ठाउँमा अनेक अवसर र सम्भावनाको खोजी हुन पर्यटन विकासले कसीको रूपमा काम गर्नेछ।

यसका लागि नेपालमा प्रशस्त सम्भावना र आधार स्वाभाविक छ। प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथादेखि मनमोहक लाग्ने दृश्य र छटाहरूले भरिपूर्ण नेपाल राम्रो गन्तव्य बन्ने पक्का छ।

नेपालभित्रको प्रादेशिकरूपमा हाम्रो गण्डकी प्रदेशभित्र अझ बढी पर्यटकीय सम्भावना देखिन्छ। प्रदेशले पर्यटन वर्षको पूर्ववत् तयारी, प्रचारप्रसार शुरू गरे पनि अझ थप ठोस योजनाको आवश्यक छ।

जसले नेपालमै सबैभन्दा बढी पर्यटकीय सम्भावना बोक्ने गण्डकी प्रदेशले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा सुखद सन्देश दिन सकोस्। त्यसभित्रको बागलुङको कालिका मन्दिर, नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन मात्र होइन अब दुर्लभ शालिग्राम संग्रहालय, सर्वसिद्धिधाम पञ्चकोटलगायतका पर्यटक आकर्षित गर्न सक्ने दर्जनौं पर्यटकीय क्षेत्र पनि छन्।

अब यसबीचमा आन्तरिक र बाह्य पर्यटक आगमन गराउने थप पर्यटक मैत्री पूर्वाधार, प्रचारप्रसार र हाम्रा मौलिक संस्कार–संस्कृतिहरूको पुनर्जागरण पनि जरुरी छ।

भ्रमण वर्षले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा सुखद सन्देश प्रवाह गरेको छ। नेपालभित्रका प्रदेश, जिल्ला र गाउँ, नगरहरूमा पनि यसले उत्साहको सञ्चार गरेको छ। भ्रमण वर्षमा पाहुना पर्यटक बोलाउने काम त हुनेछ नै।

यो वर्ष पर्यटकको स्वागतको वर्ष मात्रै होइन, पर्यटन पूर्वाधार र पर्यटन मैत्री वातावरण निर्माणका लागि अभूतपूर्व भूमिका भ्रमण वर्षले खेल्नेछ। किनकि, अब कृषिसँगै मुलुकको समृद्धिको महत्वपूर्ण आधारको रूपमा पर्यटनमा सर्वत्र सम्भावना खोज्न थालिएको छ।

यसले सुखद परिणाम नै निकाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ। यसका लागि सरकार, ठूला निकाय र ठूला पदमा पुगेकाहरूको भूमिका त बढी हुन्छ नै। हामी हरनागरिकले पनि आफ्नो ठाउँ र सिंगो नेपालको राम्रो सन्देश फैलाऔं।

नेपाल भ्रमण वर्ष २०२० भव्यरूपमा सफल पार्नु तपाईं–हामी सबैको दायित्व हो। त्यसैले हामी सबै अत्यन्तै सक्रिय र पाहुनाहरूप्रति नम्र बनौं।

– सुमित्रा खतिवडा, पामे, पोखरा।