निराला न्यायपरिषद्मा निर्विरोध

0
Shares

काठमाडौं, (नेस)।

वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला न्यायपरिषद्को सदस्यमा निर्विरोध चयन हुनुभएको छ।संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिले उहाँलाई आइतबार अनुमोदन गरेको हो।

उहाँविरुद्ध समितिमा कुनै उजुरी नपरेपछि उहाँ निर्विरोध हुनुभएको हो।पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा महान्यायाधीवक्ता रहनुभएका निरालालाई पुस ३ गते परिषद्मा सरकारका प्रतिनिधिका रूपमा सिफारिस गरिएको थियो।

मंसिर १८ गते परिषद्का सदस्य पदमप्रसाद वैदिकले राजीनामा दिएपछि खाली रहेको स्थानमा उहाँलाई सिफारिस गरिएको हो।
बिसं २०२२ सालदेखि न्याय क्षेत्रमा कार्यरत निराला २०६२ पुस ११ गतेदेखि २०६३ वैशाख ५ गतेसम्म ४ महिना महान्यायाधिवक्ता हुनुभएको थियो।

समितिमा सांसदहरूले उहाँलाई केही प्रश्नसमेत गरेका थिए। सांसदहरूले राजनीतिक र आर्थिक प्रभावले न्यायालय प्रभावित भएको भन्दै निरालालाई न्यायपरिषद् सदस्यको रूपमा प्रभावित हुने कि नहुने भनी प्रश्न सोधेका थिए।

जवाफमा निरालाले परिषद्मा राजनीतिक र आर्थिक प्रभावमा नपरी इमानदारीका साथ जिम्मेवारी पूरा गर्ने बताउनुभयो।