१८ पदमा ४५ जनाको उम्मेदवारी

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ। राष्ट्रियसभाको निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार उम्मेदवारी मनोनयपत्र दर्ता भएको हो।

आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका ९, नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुनलागेको हो।

निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसार प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी परेको छ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसंख्यक र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाले उम्मेवारी दर्ता गराउनुभएको छ। प्रदेश नं ३ मा महिला र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ। प्रदेश नं ५ मा महिला एक, अल्पसंख्यक एक र अन्य समूहका एक/एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ। ६९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिदैँछ।