हेटौंडा राजधानी : नेकपा सांसदलाई ‘सकस’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ। त्यसैले, हेटौंडामा प्रदेश–३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे निर्णय हुन सकेन।

नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फुँयालले बैठकले प्रदेश राजधानीबारे निर्णय गर्न नसकेको बताउनुभयो। सांसदहरूले प्रदेश राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा बोल्नुभएको छ। धरै सांसदले प्रदेश राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरूले मान्ने बताउनुभएको छ।

पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न चौतर्फी दबाब बढेको छ। राजधानी हेटौंडा राख्ने र नाम बागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध कडारूपमा अभिव्यक्ति दिएका तत्कालीन भौतिक पूर्वाधार मन्त्री केशव स्थापित अझै छलफल गर्न जरुरी रहेको भन्दै आफ्नो पूर्ववत् अडानबाट लचिलो भएको सांसदहरूले बताउनुभएको छ।

प्रदेशको स्थायी राजधानी र नामकरणको विषयलाई सर्वसम्मत ढंगले टुंग्याउने प्रयास भइरहेको छ। बैठकमा केही सांसदले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन्।

बैठकमा केही सदस्यले केन्द्रले आफूहरूको अधिकार खोसेको भान भएको धारणा व्यक्त गरे पनि पार्टी सचिवालयको निर्देशन मान्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन्।

केही सांसदले राजनीतिक हिसाब र केहीले कुनै समयमा भएका चित दुखाइका कारण हेटौंडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरे पनि अन्त्यमा पार्टीको निर्देशनविरुद्ध जान नसकिने बताएका छन्। विभिन्न कारणले विरोधमा उत्रिए पनि अन्त्यमा सचिवालयको निर्णय मान्नुको विकल्प नभएको सांसदको भनाइ छ।

नेकपा प्रदेश–३ को शुक्रबारबाट जारी संसदीय दलको बैठक आइतबार पनि भएको हो। प्रदेशको नाम र राजधानीको विषयमा आधिकारिक निर्णय गर्न बसेको बैठकमा प्रदेशसभा सदस्यको धारणा राख्ने क्रम नसकिएपछि जारी रहेको हो। ८० सदस्य रहेको बैठकमा बाँकी सदस्यहरूले आइतबार आफ्ना धारणा व्यक्त गरेपछि बैठकले निचोडसहित निर्णय गर्ने जनाइए पनि बोल्ने क्रम सकिएन।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका विषयमा एक मत भएर जाने प्रतिबद्धता जनाउनुभएको छ। प्रदेशको नाम र राजधानी पुस २२ गतेसम्म सकिने मुख्यमन्त्री पौडेलले बताउनुभयो। पुस २१ गते दिउँसोका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।