आधुनिक प्रविधि र दीगो विकासका उत्तम अभ्यासको तीव्र अनुसरण जरुरी


न्युज अफ नेपाल, काठमाडौं ।

वातावरण विनास, पानीको स्रोतको नास र कृषिको उत्पादकत्वमा आएको ह्रासले सिंगो मुलुक चिन्तित बनेको बेला चुरे संरक्षण, जल पुनर्भरण र दिगो कृषिको उत्तम अभ्यास महोत्तरीको बर्दीबासमा सञ्चालन भैरहेको सुखद् समाचार पनि आएको छ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले स्मार्ट वास सोलुसन्सको प्रथम साधारण सभामा यसको जानकारी दिनुभएको हो ।

शनिवार बानेश्वरमा प्रमुख अतिथिका रुपमा बोल्दै उपकुलपति डा. श्रेष्ठले भन्नुभयो, बर्दिबासको रातु खोला बाहिरबाट हेर्दा बगर देखिन्छ । तर त्यसको भित्रीभागमा पानी रहेछ । त्यो पानीलाई उपयोग गरेर नागराज यादवको नेतृत्वमा खोला किनारमा सामूहिक तरकारी र फलफूल खेति गरिएको छ । किसानहरुको खेतमा सिंचााई भएको छ । खानेपानीको समस्या समाधान भएको छ । दीगो कृषि प्रणाली सुरु भएको छ । त्यहा पुग्दा लाग्छ,समृद्धिको यात्रा सुरु भएको छ । यो अभ्यासलाई देशका अन्य ठाँउमा पनि अनुकरण गर्न सकिन्छ ।

उपकुलपति डा. श्रेष्ठले हरेक चुनौती र समस्याको समाधान भएको बताउदै समाजलाई उन्नतिमा लैजान अग्रसर नेतृत्वले नयाँ प्रविधिको उपयोगलाई पनि त्यतिकै महत्व दिन पर्ने बताउनुभयो ।

उहाँँले समृद्धिको लागि प्रबर्तन भन्ने नारासहित नाष्टले पनि विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसंग सहकार्यको थालनी गरेको जानकारी दिनुभयो । उहाँले त्यस्ता संस्थाहरुको कार्यलाई सघाउने सदासयले यस बर्ष १८ वटा संस्थासंग सहकार्य गरेको र आगामी बर्ष यस्तो सहकार्य बढाउदै जाने बताउनुभयो । नाष्टले विज्ञान र प्रविधितर्फ आकर्षण बढाउनका लागि युवा वैज्ञानिक मञ्च र महिला वैज्ञानिक मञ्चको गठन गरी कार्यक्रमहरु पनि सञ्चालन गर्न थालेको छ ।

उहाँले नाष्टमा विज्ञान पार्क बनाएर अवलोकन भ्रमणमा आउनेहरुलाई विज्ञानका हरेक क्षेत्रमा भएका विकासको जानकारी दिने योजना रहेकोले त्यसमा आफ्नो क्षेत्रको विकास झल्काउने साना पार्क निर्माणमा अग्रसर हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिमा नयाँ प्रविधिको अबलम्बनको लागि परम्परागत सोंच शैलीमा परिवर्तन ल्याउन जरुरी भएको बताउदै यस क्षेत्रका अनुभवी विज्ञहरुको अग्रसरतामा स्थापना भएको स्मार्ट वास सोलुसन्सले सरकार र नागरिकहरुका बीचमा समन्वय र सहयोगको बातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले खानेपानी, ढल निकास र प्रशोधनमा भएका अत्याधुनिक प्रविधिलाई नेपालमा भित्र्याउन वृहद् अन्तर्र्राष्ट्रिय प्रदर्शनी आवश्यकता रहेको पनि बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथि खानेपानी तथा ढलनिकास विभागका महानिर्देशक सुनिलकुमार दासले देशमा खानेपानीको पहुँच ८९ प्रतिशत जनतासमक्ष पुगेको भएपनि अझै गुणस्तरीय पानीको वितरण,लैंगिक पक्ष, सामाजिक समावेशिता, पानीको कुशल व्यवस्थापन, जलवायु परिवर्तनका नकारात्मक असर, स्मार्ट मिटरिड.सहित अत्याधुनिक प्रविधिको प्रयोग, वैकल्पिक स्रोतको उपयोग,स्रोतको संरक्षण र बढ्दो मागको आपूर्तिजस्ता थुप्रै चुनौति रहेको बताउनुभयो ।

साधारण सभाको उद्घाटन समारोहलाई संबोधन गर्दै नाष्टका प्राज्ञ डा.प्रमोद कुमार झाले सरकारले समृद्धिका १२ सूचक बनाएको र त्यसमा स्वास्थ्य र सरसफाईको सूचक पनि रहेको उल्लेख गर्नुभयो । नेपाल विकासील राष्ट्रमा स्तरोन्नति हुनका लागि अरु धेरै आर्थिक र सामाजिक क्षेत्रका सूचकमा पनि सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. नवराज खतिवडाले खानेपानीको मुहानहरु सुक्दै गएकोले नदी तथा खोलाबाट पम्पिड. गरेर पानी आपूर्ति गर्नेतर्फ सोच्न आग्रह गर्दै जस्तोसुकै प्रतिकूल समयमा पनि ३ महिना पानी आपूर्ति गर्न सक्ने भण्डारण क्षमता विकास गरी खानेपानीको सुरक्षा प्रत्याभूत गर्न यस क्षेत्रमा कार्यरत नीति निर्माताहरुलाई सुझाब दिनुभयो ।

उहाँले आकाशे पानीबाट जमिनमुनिको स्रोत पुनर्भरणको लागि शहरको निर्माणमा स्पोञ्ज शैलीको उपयोग गर्न पनि सुझाब दिनुभयो । उहाँले भन्नुभयो, हाम्रै समयमा परिवर्तनका परिणाम देख्नको लागि अत्याधुनिक प्रविधिमा आधारित तीव्र गतिको विकास अबलम्बन गर्नुको विकल्प छैन ।

कार्यक्रममा स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहले विगत एक बर्षमा स्मार्ट वाटर म्यानेजमेन्ट, आकाशे पानीको संकलन र व्यवस्थापन,मानव मलमूत्रीय लेदो व्यवस्थापनका क्षेत्रमा राष्ट्रिय सम्मेलन आयोजना गरी सरोकारवाला निकाय र नीति निर्माताहरुबीच संवादको थालनी गरी नीतिगत परिवर्तन र योजना तथा कार्यक्रम सञ्चालनमा सामाञ्जस्य ल्याउन प्रयास गरिएको बताउनुभयो ।

उहाँले छोटो समयमा नै संस्था एशिया वाटर काउन्सिलको सदस्य बन्न सफल भएको बताउदै आगामी बर्षमा केही नगरहरुमा स्मार्ट वाटर म्यानेजमेन्ट र केही नगरहरुमा ढल व्यवस्थापनको नमूना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगर पालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ र एकीकृत बाग्मती सभ्यता विकास तथा संरक्षण समितिका कार्यकारी निर्देशक ई.देबेन्द्र झाले सरसफाईको महत्वमा प्रकाश पार्नुभएको थियो ।

साधारण सभामा स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले गत बर्ष संस्थाले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आगामी बर्ष समग्र सरसफाईको गुरुयोजना तयार पार्नका लागि राष्ट्रिय सम्मेलन गर्ने, खानेपानीको सम्बन्धमा राष्ट्रिय ज्ञानको भण्डार(नलेज हव) स्थापना गर्ने, खानेपानी र सरसफाईको क्षेत्रमा स्मार्ट प्रविधि अबलम्बन गर्न देशव्यापी अधियान चलाउने र दीगो विकासका खानेपानी तथा सरसफाईसम्बन्धी लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा विविध कार्यक्रम गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ प्रविधिको उपयोग गरी नेपालभर दीगो खानेपानी आपूर्ति र समग्र सरसफाईको सेवा पुर्याउन निजी क्षेत्रबाट सघाउने उद्देश्यले २०७५ मंसिर २० मा स्मार्ट वास सोलुसन्स नामक संस्था स्थापना गरिएको थियो ।