पानी बोकेरै तरकारी र फलफूलको सिचाईं


मानबहादुर बोहरा, बझाङ ।

जिन्दगीको डेढ दशकभन्दा बढी भारतका विभिन्न गल्ली र सहरमा विताएका बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका – ३ देउलेख, काँडागाँउका धने रोकायाको उमेर ७२ वर्ष पुग्यो । उमेरले सात दशक भन्दा बढी कटिसके पनि उनको काम युवाको भन्दा कम छैन् । युवाहरुलाई चुनौती दिँदै उहाँले झण्डै १२ रोपनी जमिनमा स्वदेशी र विदेशी जातका फलफूल र तरकारी लगाएर हराभरा बनाएका छन् । रोकाया गाउँको मात्र नभएर जिल्लाकै नमुना किसान हुन् ।

रोकायाले १५ वर्ष भारतका विभिन्न ठाउँमा चौकीदारी गरे । भारतमै केहि समय कृषिमा काम गर्ने क्रममा बिरुवाको कलमी गर्ने काम सिकेर घर फर्किए । रोकायाले त्यहि सीपलाई प्रयोग गर्दै आफ्नै बारीमा पसिना बगाए । अहिले उनी भन्छन्, “भएको सीपलाई प्रयोग गर्नेहो भने सफलता हात पार्न समय लाग्दैन् ।” यसैको एक उदाहरणको रुपमा रोकायालाई लिन सकिन्छ ।

घर फर्केर आफ्नै पाखो जमिनमा तरकारी र फलफूल फलाउने उहाँको सपना सजिलै पूरा हुने कुनै छाँटकाँट थिएन । तर, मिहिनेतले एक दिन अवश्य सफलता दिलाउँछ भन्ने विश्वास उनमा थियो । त्यसैले उनको त्यो परिश्रम अहिले सार्थक बनेको छ ।

अहिले रोकायाले १२ रोपनी जमिनमा स्वदेशी र विदेशी जातका फलफूल र तरकारी लगाएका छन् । फलफूलमा काँकड् किल्या नासपाती, जापनिज नासपाती, गोला नासपाती, गडमेल नासपाती, आलुबखडा, काबिल आरु, खुरपानी, चेरी, लप्सी, दाँते ओखर, कागती, अंगुर, चियापत्ती र अमिलो छन् । त्यस्तै, ताङ्खुवा रायो, चुकुन्दर, पालुंगो, बकुल्ला, बेथे, भोटे लसुन, परिङ्गाल लसुनलगायतका तरकारी ले उनको बारी हराभरा छ । बारीमा अकबरे खुर्सानी, भक्तपुरे काँक्रा, मेथी, धनियाँ र मूला पनि रोपीएको छ ।

बेर्ना पाउँदै मुस्कील
सुख्खा ठाउँमा फलफूल र तरकारी उत्पादन गर्न सहज छैन् । त्यसैमाथि किसानले रोप्न खोजेको बेर्ना पाउँन पनि मुस्कील छ । रोकायाले फलफूल तथा तरकारीका लागि देश–विदेश धाए । उनले भारतको सिम्ला, निरुवा, नैनीताल, कुमाउ, गडुवाल लगाएतका ठाउँबाट फलफूल र तरकारीका बेर्ना ल्याएर रोपे ।

उनले कास्कीबाट ताङ्खुवा रायो र ललितपुरबाट लप्सी ल्याएर देउलेखमा फलाए । अहिले रोकायालाई बदाम फलाउन मन छ । तर, उनले बदामको बेर्ना पाएका छैनन् । उनी भन्छन्, ‘मर्नुअघि रुखवाला बदाम फलाउन पाए खुसी हुन्थ्येँ, मदामको विउ धेरै ठाउँ खोजे तर अहिले सम्म पाएको छैन् ।’

पानी बोकेर सिचाई !
सिचाईको सुविधा नभएको भिरालो ठाउँमा खेती गर्नु सामान्य कृषकका लागि निकै चुनौती छ । रोकायले भने, ‘मैले आधा घण्टाको बाटो हिँडेर गाग्रीमा बोक्दै बेर्ना उब्जाएँ । यहाँ यति धेरै मिहिनेत कसैले गर्दैनन् ।’ उनले चरिचरणको लागि भेडा ल्याएर राखेको ठाउँबाट मल ल्याएर बारीको माटोमा मिसाए । उब्जनी पनि राम्रो भयो । रोकायाले सुनाए, ‘यति राम्रो उब्जनी होला त सोचेको थिइनँ । परिश्रमको फल पाउँदा सन्तुष्ट नै छु ।’

अहिले उनलाई सिचाईको लागि पानीको अभाव छ । एक पटक पानी बोकेर ल्याउन आधा घण्टाको बाटो हिड्नुपर्छ । रोकायाले अहिले बोकेर ल्याएको पानी र आकासे पानीलाई संकलन गरेर ट्यांकीमा जम्मा गरी बेर्ना, फलफूलका बोट र तरकारीलाई विहान बेलुका सिचाई गरीरहेका छन् ।

गज्जबको आम्दानी
जिल्लाकै नमुना कृषक धने रोकायाको घर वरीपरी फलफूल तथा तरकारी खेतीले ढाकिएको छ । उनको बारीमा नै उनको मिहेनत हेर्न धेरै पुग्ने गरेका छन् । त्यहाँ हेर्नै आएकाहरु पनि केही न केही किनेरै लग्छन् । दैनिक दर्जन भन्दा बढीले रोकायाको बारीमा अवलोकन गर्ने गरेका छन् । वार्षिक १ लाख भन्दा बढी आम्दानी हुने गरेको रोकाया बताउँछन् ।

उनका दुई छोरामध्ये एक छोराले घर नजिकैको देउलेखमा पसल चलाई रहेका छन् । ग्राहकहरुले त्यहि पसलबाट रोकायाले उत्पादन गरेको फलफूल तथा तरकारी विक्रि हुन्छ । पहिले तरकारी बोकेरै विक्रिको लागि स्थानीय मौरीबगर, भाँडेबगर, झोताबजार लगाएतका ठाउँमा पुर्याउनु पथ्र्यो । तर, अहिले रोकायाकै घर नजिक सडक पुगेको छ । उनले सहजै आफूले उत्पादन गरेको तरकारी विभिन्न स्थानीय बजारहरुमा पुर्याईरहेका छन् । उनले उत्पादन गरेको तरकारी तथा फलफूलको माग पनि बजारमा बढीरहेको छ ।

सहज थिएन जिन्दगी
सानै उमेरमा बुवाआमा गुमाउनु भएका रोकाया जेठा छोरा हुन् । भाइहरुलाई जुनसुकै पनि हालतमा पढाउनुपर्छ भन्ने उनको मान्यता थियो । त्यसकै लागि उनीले आफ्नो जिन्दगीका १५ वर्ष भारतमा विताए । भाईको पढाई पनि सफल भयो । रोकायाले १६ वर्षको उमेरमा विवाह गरे । परीवारको हातमुख जोर्न तथा भाइलाई पढाउनको लागि उनी विवाह गरेको केहि दिनमै भारत पसे । केहि वर्ष पछि अज्ञात समूहबाट उनकी श्रीमतीको अपहरण भयो र बलात्कार पछि हत्या भयो । हत्या कसले गरेको थियो त्यो अहिले सम्म पनि खुल्न सकेको छैन् ।

घरमा त्यती ठूलो घटना हुँदा रोकाया भारतको सिम्लामा थिए । त्यहाँबाट घर आउन खर्च थिएन । उनको साथमा जम्मा दुई तोला सुन थियो उतिबेला । तर, घर आउनु नै पर्ने भयो । भारतको सिम्लामा रहेका आफन्तसँग पैसा ऋण मागेर उहाँ घर फकिए । तर, घर आउँदा बाटोमै उनको पैसा र लुगाकपडा चोरी भयो ।

रोकायाले उबेलालाई सम्झेर आँखाभरी आँसु टिलपीलाउँदै भने, ‘मर्न मन लागेको थियो, मनमा आत्महत्या गर्ने हुटहुटी चल्यो । तर, उनी मर्न सकिएन ।’ उनी ६ दिन लगाएर हिँड्दै नेपालको कञ्चनपुर पुगे । कञ्चनपुरबाट हिँडेर बझाङ पुगेको रोकायाले बताए ।

घर पुगेको केही वर्ष पछि रोकायाले आफ्नै सालीसँग विवाह गरे । त्यसपछि घर छोडेर जान उनको मनले दिएन । अहिले दुवै बूढाबूढीले सुखदःुख गरेर घरबार दरबारजस्तै बनाए । जिन्दगीका दुःखद् क्षणसँग नहारेका रोकायाले अहिले नाम सँगै दाम पनि कमाईरहेका छन् ।