राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ९ जनाको मनोनयन


सरोज यादव, विराटनगर ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर एकमा तीन वटा राजनीतिक दलबाट नौ जनाले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले खाली नौ वटै पदमा उम्मेद्वारी दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीबाट महिला तर्फ ६४ वर्षीया इन्दिरादेवी गौतमले उम्मेद्वारी दिनुभएको छ । उहाँ सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर चारकी स्थायी बासिन्दा हुनुहुन्छ । दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामीले उम्मेद्वारी दर्ता गराएका छन् भने अन्य तर्फबाट झापाका ६१ बर्षीय देवेन्द्र दाहालले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसबाट महिला तर्फ सुनसरीकी ६५ बर्षीय मीना पुलामी मगरले, दलिततर्फ पाँचथरका निरबहादुर विश्वकर्माले र अन्य समूह तर्फ झापाका ५८ बर्षीय राजेन्द्रकुमार घिमिरेले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय मोरङले जनाएको छ । त्यस्तै समाजावदी पार्टीबाट महिला तर्फ विराटनगरकी कमला बडही , दलित तर्फ मोरङका ज्ञानकुमार परियार र अन्य तर्फ विराटनगरका भरतकुमार दाहालले मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थानिय तहमा एक सय ७० सिट छ । यसको मतभार तीन हजार ६० रहेको छ । प्रदेश सभामा नेकपाको ६७ सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार तीन हजार दुई सय १६ रहेको छ । नेकपाको जम्मा मतभार छ हजार दुई सय ७६ रहेको छ । त्यस्तै नेपाली कांग्रेसले स्थानिय तहमा ९६ सीट जितेको छ भने प्रदेश सभा सदस्य २१ जना रहेका छन् । नेपाली कांग्रेसको जम्मा मतभार दुई हजार सात सय ३६ रहेको छ ।

त्यसैगरी समाजवादी पार्टीको स्थानीय तहमा चार सिट र प्रदेश सभामा तीन जना छन् । यसको कूल मतभार दुई सय १६ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा चार जना र प्रदेश सभामा एक जना छन् । यसको मतभार एक सय २० छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ ।