पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक १ हजार धरौटीमा रिहा


न्युज अफ नेपाल, काठमाडौं । नेपाललाई आश्रयस्थल बनाएर अपराध गरेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई जनही १ हजार धरौटीमा रिहा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ।

दुई पटकसम्म अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालयमा फाइल पेश गरेको थियो । काठमाडौं प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही १ हजार धरौटीमा छाड्न आइतबार आदेश दिएका हुन्।

अब प्रहरीले उनीहरुलाई थप कारबाहीका लागि अध्यागमन कार्यालय बुझाउने जनाएको छ। यसबारे महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होविन्द्र बोगटीले भने, ‘अभद्रमा उनीहरुको फैसला भइसकेको छ । थप कारबाहीका लागि अध्यागमन पठाइनेछ।’

चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंमा चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका क्रममा पुस ७ गते १२२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको हो ।

प्रहरीले उनीहरुको साथबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको थियो ।

पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।

पक्राउ परेका सबैलाई परिसर, सोह्रखुट्टे, सिंहदरबार, बालाजु, महाराजगन्ज वृत्तमा राखि अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो ।