विपद् व्यवस्थापन सम्वन्धि समन्वयात्मक बैठक सम्पन्न


काठमाडौं ।

गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव ईन्दु घिमिरको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा विपद् व्यवस्थापन सम्वन्धि समन्वयात्मक बैठक आइतबार सम्पन्न भएको छ ।

बैठकमा सहसचिव घिमिरले विपद् व्यवस्थापन सम्वन्धि तीनवटै सुरक्षा निकायबीचको समन्वयात्मक छलफल र सहकार्य गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजाँदा विपद् व्यवस्थापन अझ प्रभावकारी हुने बताउनुभयो । भौगोलिक अवस्था, जनघनत्व लगायतका विषयमा अध्ययन गरी राष्ट्रिय स्तरको मापदण्ड अनुरुपको पाठ्यक्रम तयार गर्दा दक्ष जनशक्ति उत्पादन भइ मानवीय जोखिमको न्यूनीकरण गर्न सहज हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा उक्त महाशाखाका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले विपद् व्यवस्थापन सम्बन्धि पाठ्यक्रम तयार गर्नुको उद्देश्य, कर्मचारी परिचालन, शव व्यवस्थापन, उद्दार उपकरण, संचार सामाग्री, सवारी साधनको व्यवस्थापन, विविध गतिविधि, अग्नि नियन्त्रण सम्वन्धमा स्कूल सचेतना कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा कार्यपत्र प्रस्तुतीकरण गर्नुभयो ।

सबै सुरक्षा निकायहरूको विपद् व्यवस्थापन तालिमको स्तरोन्नति एवं स्थानीय निकायसम्म विपद् उद्धार सामग्रीको व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णयहरू बैठकमा गरिएको छ । बैठकपछि उक्त महाशाखाको प्राङ्गणमा विपद उद्दार सामाग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका  विपद् व्यवस्थापन सम्बन्धि यूनिटमा कार्यरत अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।