संसार जित्ने ज्ञान छ तर संचार देखाउने आँखा छैन


धनवीर दाहाल, रुकुम ।

पुस माघको अत्यन्तै चिसोमा लठ्ठी टेक्दै, हिड्ने बाटो छाम्दै आफुलाई छाक खोज्न हिडिरहन्छन् बलबहादुर । हिउँदको समयमा कठ्याङ्रिँदो चिसो तथा बर्षाको समयमा पानीको भेलमा पनि छाक टार्न आफन्तहरु गुहार्नै पर्छ उनलाई । हेर्दा लक्का जवान छन्, केही गर्ने आँट गर्छन् तर संसार देख्ने आँखाले काम गर्दैनन् । ज्ञानको भण्डार त छ तर त्यसलाई उतार्न सक्ने अवस्था छैन बलबहादुर सँग ।

चौरजहारी नगरपालिका १ घारीगाँउ रुकुम पश्चिमका बलबहादुर थापा उमेरले २५ बर्षका भए । आमा बुवा गुमाएका बलबहादुर फरक क्षमता भएका (दुवै आँखा नदेख्ने) तर पढाईमा निकै मेहनती छन् । उनीसँग पढेको प्रमाण पत्र निकाल्ने समेत रकम छैन । गरिव परिवारमा जन्मेका बलबहादुर गत बर्ष सम्म बाबा आमाकै सहारामा थिए । तर गत बर्षको जेठ महिनामा बुवाको र गत बर्षको पौष महिनामा आमाको मृत्यु भएपछि उनी सहारा बिहिन छन् ।

दुवै आँखा नदेख्ने भएर पनि कक्षा १२ सम्म उतिर्ण गरिसकेका बलबहादुर पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्न सकेका छैनन् । उनी भन्छन् “यति बेला मलाई खान लगाउन समस्या छ , पढ्ने इच्चा भएर पनि के गर्नु ?” उनी कक्षा ८ मा दोस्रो भएका थिए । “म राम्रै सँग पढीरहेको थियँ ” उनले भने –आँखा नदेख्ने भनेर बिद्यायलयमा धेरै हेपियँ ।” बिद्यालयमा भर्ना गर्न सकेत शिक्षकहरु नमानेको दुखेसो उनले सुनाए ।

आफन्तको घरमा बस्दै आएका बलबहादुरलाई यति बेला सहयोगको खाँचो भएको स्थानीय शर्मिला बिष्टले बताइन् । बिष्टका अनुसार बलबहादुरलाई दैनिक जोहो गर्न सम्म गाह्रो छ । शितल माध्यामिक बिद्यालयबाट १२ उतिर्ण गरेपछि उनलाई उतिर्ण गरेको प्रमाण पत्र निकाल्न समेत पैैसा भएन । सोही कारणले प्रमाण पत्र समेत लिन नसकेको उनको भनाई छ ।

आफुलाई उच्च शिक्षा हासिल गर्न मन भएको भएपनि सहारा दिने मान्छे र पैंसा नभएको कारण गर्न नसकेको बलबहादुरले बताए । आफुलाई लोकसेवा पढ्ने इच्छा भएको समेत उनले बताए । “म यो देशको सेवा गर्न सक्छु तर त्यसका लागी गर्नुपर्छ भन्ने मेरो न अभिभावक छ , नत म सँग आफै गर्न लाई संसार देखाउने आँखा छन् ।” यो बलबहादुरको पिडा हो । राज्यबाट पाउने कुनै सुबिधा सम्म उनले पाएका छैनन् । स्थानीय शर्मिला भन्छिन् “बलबहादुरको लागी राज्यले सानो भएपनि सहयोग गर्यो भने उनको भबिश्य बन्ने थियो ।”