मध्य मस्र्याङ्दीको उत्पादन दुई साता बन्द

0
Shares

शिक्षा पन्त, लमजुङ।

लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको एउटा युनिटको उत्पादन दुईसाता बन्द हुने भएको छ। मर्मतका लागि जलविद्युत् केन्द्रको दोस्रो युनिटको उत्पादन बन्द गर्न लागिएको हो।

मध्यमस्र्याङ्दी नदीमा पानीको सतह घट्दै गएकाले युनिट मर्मत गर्न लागिएको केन्द्र प्रमुख शिवकुमार साहले बताउनुभयो।उहाँले भन्नुभयो–‘पानीको सतह घटेकाले एउटा युनिटबाट मात्रै चल्ने पानी भएपछि उत्पादन बन्द गरेर मर्मत शुरु गरिनेछ।

२६ पुसदेखि दोस्रो युनिटको मर्मत शुरु गर्ने तयारी भइरहेको छ। १६ दिनमा सम्पन्न गर्ने गरी काम गर्छौं।’ दोस्रो युनिटको मर्मत अवधिमा पहिलो युनिटले नियमित विद्युत् उत्पादन गर्ने केन्द्रले जनाएको छ।

दोस्रो युनिटको उत्पादन बन्द हुँदा ३५ मेगावाट विद्युत् प्रणालीबाट विच्छेद हुनेछ। प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमस्र्याङ्दीमा जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ।

केन्द्रबाट हिउँदमा विद्युत्को माग बढी हुने साँझ र बिहान (पीकआवर) मा ७० मेगावाट र अन्य समयमा करिब ३५ मेगावाट विद्युत् उत्पादन हुन्छ।