३८ घण्टादेखि अवरुद्ध राजमार्ग खुल्यो

0
Shares

डडेल्धुरा, (नेस)।

भारी हिमपातका कारण बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाजोड्ने मुख्यसडक खण्ड भीमदत्त राजमार्ग शनिबार अपरान्हदेखि सञ्चालनमा आएको छ।

अवरुद्ध भएको करिब ३८ घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो।बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।

सडक डिभिजन कार्यालय कुलपाते डोटी, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाएपछि शनिबार अपरान्हदेखि एकतर्फी रूपमा यातायात सेवा सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो।

भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेकाले राजमार्ग अवरुद्ध भएको थियो। हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा–बैतडी जोड्ने दशरथचन्द राजमार्ग पनि हाल सञ्चालन भएको छ।

डडेल्धुराको अनराखोलबजार र बैतडीको खोडपेबजार क्षेत्रमा ३ फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइएको हो।

टेलिफोन र इन्टरनेट सेवा अझैं अवरुद्ध

हिमपातले क्षति गरेका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन, मोबाइल तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ।

हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन्।

बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम डडेल्धुरा कार्यालयले जनाएको छ।

डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार र शनिबार विद्युत् सेवासमेत अवरुद्ध थियो। हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको हो। अवरुद्ध रहेको विद्युत् सेवा शनिबार अपरान्हदेखि सुचारु भएको थियो।