कालिन्चोकमा लगातार हिमपात

0
Shares

दोलखा, (नेस)।

प्रसिद्ध तीर्थस्थल कालिन्चोकमा शनिबार साँझबाट पुनः हिमपात शुरु भएको छ। शुक्रबार केही समय हिमपात भएको कालिन्चोक क्षेत्रमा शनिबार साँझबाट लगातार हिमपात भै रहेको स्थानियले बताएका छन्।

हिमपातले चिसो बढाए पनि धार्मिक आस्थासँगै हिउँको आनन्द लिन शनिबार २ हजार भन्दा बढी पर्यटक कालिन्चोकको कुरीमा रमाइरहेको स्थानीय सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो।

पर्यटकहरू आउने क्रम रातिसम्मै जारी रहेको ओलीले बताउनुभयो। कुरीमा रहेको करिब ५० ओटा होटल सबै भरीभराउ भैसकेको उहाँको भनाइ छ।

अत्यधिक हिमपातका कारण सवारी साधनहरू कालिन्चोकभन्दा केही तल गैरीसम्म मात्र पुग्ने गरेको र गैरीबाट चेनवाला बोलेरोले यात्रुलाई कालिन्चोकको कुरीसम्म लाने गरेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्।

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिन्चोक ३ हजार ८ सय ४२ मीटरको उँचाईमा रहेको छ। हरेक वर्ष पुसदेखि चैत्रसम्मै हिमपात हुने कालिन्चोकमा पर्यटकहरू धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको लागि पुग्ने गर्छन्।

काठमाडौँबाट करिब एक सय ४० किलोमीटरको दूरीमा रहेको कालिन्चोकमा उपत्यकाबाट अत्यधिक पर्यटक पुग्ने गरेको स्थानीय होटल व्यवसायी बताउँछन्। कालिन्चोकको मुख्य आकर्षण भनेको टाकुरोमा रहेको कुण्ड हो।

अग्लो टाकुरोमा सँधै जलयुक्त कुण्ड हुनु कालिन्चोकको मुख्य विशेषताभएको स्थानीय जेष्ठ नागरिकहरू बताउँछन्। कालिन्चोकमा पुग्ने पर्यटकहरूले आफ्नो मनोकामना पूरा होस् भन्दै घण्टा र त्रिशुल चढाउने गर्दछन्। यो मन्दिरमा एउटा मात्रै वरदान माग्दा पूरा हुने जनविश्वास रहेको छ।

विगतमा उपत्यका र दोलखा तथा आसपासका जिल्लाबाट मात्र पर्यटक पुग्ने गरेको, कालिन्चोकमा अहिले तराई तथा भारतबाट समेत पर्यटक पुग्ने गरेको सुनपाति होटलका सञ्चालक ओलीको भनाइ छ।

शुक्रबार केही समय परेर रोकीएको हिमपात शनिबार साँझबाट पुनः शुरु भएपछि अहिले मन्दिर तथा कुरी आसपास २ फिट भन्दा बढी हिउँ जमेको स्थानीय बताउँछन्। कुरीबाट केबलकारको समेत सुविधा रहेकोले पर्यटकलाई मन्दिरसम्म पुग्न भने धेरै समस्या नहुने स्थानीय होटल व्यवसायीहरू बताउँछन्।