नमुना आवासीय विद्यालय स्थापनाको तयारी– मन्त्री पुन


प्रताप बानियाँ, म्याग्दी ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारमार्फत ६ ओटा नमुना आवासीय विद्यालय स्थापना गर्न लागिएको बताएकी छिन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको बताएकी हुन् ।

मन्त्री पुनले गण्डकी प्रदेशभित्र स्थापना गर्न लागिएको ६ ओटा नमुना आवासीय विद्यालयहरुमध्ये २ विद्यालय म्याग्दीमा स्थापना गरिने जानकारी दिएकी छिन् । उनले हेम मावि सिबाङ र शिख उच्च माविमा नमुना आवासीय विद्यालय स्थापना गरिने बताउँदै त्यसका लागि ६० लाख रुपैयाँका दरले बजेट विनियोजन गरी पठाइसकिएको बताइन् । पहाडी जिल्लामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको हुँदा नमुना आवासीय विद्यालयको अवधारणा ल्याइएको उनले बताएकी छिन् ।

विद्यालयहरुमा बासी खाजा तथा खानाको प्रयोग हुने गरेको बताउँदै मन्त्री पुनले नमुना विद्यालय स्थापनासँगै अर्गानिक उत्पादनको प्रयोगमा जोड दिइने बताइन् । उनले गतवर्ष गण्डकी प्रदेशका ८५ ओटै स्थानीय तहमा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिएको बताउँदै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएकी छिन् । म्याग्दी जिल्लाका सबै विद्यालयहरुमा कार्यक्रम सञ्चालन गरिने मन्त्री पुनको भनाइ छ । विश्वविद्यालय स्थापना गर्नका लागि ऐन पारित गरी उपकुलपतिको खोजी भैरहेको बताउँदै उनले गण्डकी प्रदेशमा रहेका प्रावि विद्यालयमा ७० हजार विद्यार्थीहरु रहेपनि स्नातक तहसम्म पुग्दा २७ हजार पाइएको हुँदा त्यसको खोजी गर्नुपर्ने बताइन् ।

मन्त्री पुनले बेनी अस्पताललाई तीन करोड रुपैयाँ बजेट आउने जानकारी दिँदै निकट भविष्यमै म्याग्दी जिल्लामा मृर्गौला डाईलासीसको सेवा सञ्चालन गरिने बताएकी छिन् । उनले डाईलासीसको मेसिन आउने क्रममा रहेको भन्दै आगामी फागुन चैतभित्रै मृर्गौला डाईलासीसको सेवा सुरु गरिने जानकारी दिइन् । उनले सामाजिक विकास मन्त्रालयमार्फत एकीकृत स्वास्थ्य अभियान ल्याइएको बताउँदै नसर्ने खालका रोगबाट बच्नका लागि स्वास्थ्यकर्मीसहित कार्यक्रम चलाइने बताइन् । उनले गण्डकी प्रदेशमा क्यान्सर अस्पताल निर्माणका लागि समेत आवश्यक छलफल चलाइएको बताएकी छिन् । सुत्केरी हुन नसकेका महिलाहरुको तुरुन्तै उद्दारका लागि हेलिकप्टर परिचालन गर्ने गरिएको बताउँदै मन्त्री पुनले हिंसापीडित महिलाहरुलाई न्यायका लागि बजेटको व्यवस्थापन गरिएको बताइन् ।

उनले निजामति सेवामा युवाहरुको आकर्षणका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न जिल्ला समन्वय समितिमा आवश्यक बजेट पठाइएको बताउँदै त्यसको उपयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिएकी छिन् । मन्त्री पुनले सडक बालबालिकाको व्यवस्थापन, बौद्धिक अपाङ्गता र दृष्टिविहिन बालबालिकाहरुलाई लक्षित गरेर आवश्यक बजेट विनियोजन गरिएको बताउँदै बालमैत्री प्रदेश निर्माणका लागि बालविवाह न्युनीकरण गर्न आवश्यक पहल थालिएको बताएकी छिन् । उनले ज्येष्ठनागरिकलाई लक्षित गरेर वृद्धाश्रम र ज्येष्ठनागरिक आश्रम निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताइन् ।

सोही कार्यक्रममा बोल्दै पूर्व सांसद रेशमबहादुर बानियाँले म्याग्दी बहुमुखी क्याम्पसको दीगो विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले म्याग्दी जिल्लाको एकमात्र सामुदायिक क्याम्पस रहेको बताउँदै क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी क्याम्पसको विकासका लागि प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने बताउँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले समाजमा देखिएका सामाजिक बिकृति तथा विसङ्गति न्युनीकरणमा म्याग्दी क्याम्पसले पनि आवश्यक भूमिका खेल्नुपर्ने बताउँदै भौतिक संरचनालगायत हरेक दृष्टिकोणले क्याम्पसको विकास भैरहेको बताए । उनले म्याग्दी बहुमुखी क्याम्पसले प्राविधिक शिक्षा प्रदान गर्नेतर्फ जोड दिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालन गर्न अझै चुनौती रहेको बताउँदै सबै मिलेर क्याम्पसलाई अगाडि बढाउनुपर्ने बताए । नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले क्याम्पसको उन्नतिका लागि सबैको देन रहेको बताउँदै यसको विकास सहयोग गर्नुपर्ने बताएका थिए ।

वार्षिकोत्सवको अवसरमा सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशको आर्थिक सहयोगमा क्याम्पसमा हालै निर्माण गरिएको क्याम्पस सभाहलको समेत उद्घाटन गरेकी छिन् । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा अहिले कुल १ हजार ३१ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातक तहमा बिहान र दिवा तथा स्नातकोत्तर तहमा एमबिबिएस पढाई हुँदै आएको छ ।