लेस्टर र सिटी विजयी

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिश प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लेस्टर सिटी र म्यानचेस्टर सिटी विजयी भएका छन्। सन् २०२० को पहिलो दिन लेस्टरले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै न्युक्यासल युनाइटेडमाथि ३–० को सहज जित निकालेको थियो।

यो नतिजासँगैं न्युक्यासललाई आफ्नै मैदानमा लज्जित बन्नुपरेको थियो। लेस्टरको जितमा एयोजी पेरेज, जेम्स म्याडिसन र हम्जा चौधरीले गोल गरे।

खेलभर नै घरेलु टोलीलाई दवाबमा राखेको लेस्टरले ३६औं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो। फ्लोरेन लिजुनेको ब्याक पासलाई चलाखीपुर्ण तरिकाले नियन्त्रण गर्दै एयोजीले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्न सफल भएका थिए।

खेलको ३९औं मिनेटमा जेम्स म्याडिसनले पेरेजको पासमा गोल गर्दै लेस्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। खेलको ८७औं मिनेटमा वैकल्पिक खेलाडी हम्जाले गोल गर्दै लेस्टरलाई ३–० को सहज जित दिलाए।

जितसँगै लेस्टरको २१ खेलबाट ४५ अंक भएको छ। लेस्टरले यो सिजन २१ मध्ये १४ खेलमा जित निकाल्दा ३ बराबरी र ४ हारको सामना गरेको छ। पराजित न्युक्यासलको समान खेलबाट २५ अंक रहेको छ।

त्यस्तै ब्राजिली फरवार्ड ग्याब्रियल जेससको दुई गोल सहयोगमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–१ ले पराजित गरेको छ। इत्तिहाद स्टेडियममा बुधबार राति भएको खेलमा लगातार एभर्टनलाई दवाबमा राखेपनि गोलको लागि ५१औं मिनेट कुर्नुपरेको थियो।

इल्केए गुन्डोगानको पासमा जेसलले गोल गर्दै सिटीलाई १–० ले अघि बढाए। ५८औं मिनेटमा रियाद महारेजको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

खेलको ७१औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने संकेत दिए। तर, त्यसपछि थप गोल निस्कन नभएपछि सिटी २–१ ले विजयी बन्यो। जितपछि सिटीको ४४ अंक पुगेको छ। त्यस्तै एभर्टन २५ अंकसहित ११औं स्थानमा छ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनह्याम हट्सपर साउथह्याम्पटनसँग १–० ले पराजित भएको छ। ड्यानी इंग्सले खेलको १७औं मिनेटमा गरेको गोल नै टोटेनह्यामलाई हराउन पर्याप्त बन्यो। जितपछि साउथ ह्याम्पटनको २५ अंक भएको छ।