काठमाडौंलाई व्यवस्थित बनाउन मेयरको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरू बढी सक्रिय र उत्तरदायी बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरूसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो।

सहरी सेवा, सहरी पूर्वाधार तथा सहरी सुबिधा बितरणमा सबैको पहुँच पुर्याउने उद्देश्यले प्रधानमन्त्री ंतथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त कामको बाँडफाँडसहितको विवरण प्रस्तुत गर्दै मेयर शाक्यले महानगरको नेतृत्वमा हुने काम र त्यसको कार्यान्वयनमा सक्रिय ढंगले लाग्न पनि निर्देशन दिनुभयो।

प्रधानमन्त्री ंतथा मन्त्री परिषद्को कार्यालयबाट गरिएको कामको बाँडफाँडमा धेरै काम महानगर एक्लैले गर्नुपर्ने छ। यद्यपी केही काम भने विभिन्न मन्त्रालय, सडक विभाग, मेलम्ची खानेपानी आयोजना, नेपाल आयल निगमलगायतसँगको समन्वयमा सम्पादन गर्नुपर्ने रहेका छन्।

विभागीय प्रमुखहरूसँगको छलफलमा मेयर शाक्यले कतिपय सन्दर्भमा नगर सभाबाट स्वीकृत गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन भएको ढिला–सुस्तीले केही समस्या भएको बताउनुभयो। उहाँले विभागीय प्रमुखहरूलाई स्वीकृत नीति तथा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न निर्देशन समेत दिनुभयो।

होर्डिङबोर्ड हटाउने काममा ढिलासुस्ती नहोस

मेयर शाक्यले सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिला–सुस्ती नगर्न पनि निर्देशन दिनुभयो।

‘सहरलाई नै कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्डका कारण हामीले पनि धेरै गुनासो सुन्नु परेको छ,’ उहाँले भन्नुभयो, ‘तपाईले होर्डिङ् राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस्।

होइन भने सबै हटाउनोस्। शुल्क लिएर राख्न दिएको भए, पैसा फिर्ता गर्नोस् र बोर्ड हटाउनोस्। तर, हटाउने काममा ढला–सुस्ती हुनुभएन।’

ट्राफिक लाइट सञ्चालनमा ल्याइने

काठमाडौँ महानगरपालिकालाई महानगरीय ट्राफिक प्रहरीसँग समन्वय गरेर बानेश्वर, सिंहरदरबार, गौसाला, माहाराजगञ्ज चोक लगायतका स्थानमा पुस भित्रमा ट्राफिक लाइट सञ्चालनमा ल्याउन भनिएको छ।

त्यसैगरी महानगर क्षेत्र भित्रका खाल्टाखुल्टी सडक विभाग र सम्वन्धित निकायसँग छलफल गरेर जतिसक्दो छिटो पुर्न भनिएको छ।
त्यस्तै सडक विभागको समवन्यमा चैत भित्रमा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बाँयातिरको खाली ठाँउमा सर्भिस लेन बिस्तार गर्ने, सडक विभागको समवन्यमा कालीमाटी मुनीको दुबैतर्फको अण्डरपास बैशाख भित्रमा व्यवस्थित गर्नेलगायतका कुरा पनि अल्पकालिन कार्ययोजनामा उल्लेख गरिएको छ।

त्यस्तै नेपाल आयल निगम र सडक विभागसँग समन्वय गरेर सवारी आगमनलाई बाधा पर्ने किसिमले सञ्चालनमा रहेका पेट्रोलपम्पहरू स्थानान्तरण गर्ने, पिक एण्ड ड्रपलाई थप व्यवस्थित गर्ने, माघ भित्रमा सडक विभागसँगको समन्वयमा जेव्राक्रस थप गर्ने, ट्राफिक संकेत मर्मत गर्ने, सिसि टिभिलाई थप व्यवस्थित गर्ने, गुठी संस्थानलगायतसँगको समन्वयमा सडक आसपासका खाली जग्गाहरू भाडामा लिई पार्किङका लागि उपयोग गर्ने जस्ता विषयमा पनि कार्ययोजनामा उल्लेख गरिएको छ।

फागुन भित्रमा सम्वन्धित निकायसँग समन्वय गरेर महानगर क्षेत्र भित्र यात्रु चढ्ने र ओराल्ने स्थानमा प्रतिक्षालयसहित बस पकेटहरू बनाउने, फुटपाथ व्यवस्थित गर्ने जस्ता कुरामा पनि महानगरपालिकाको जिम्मेवारीमा परेका छन्।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको बैठकमा उठेका बिषय र महानगरको नेतृत्वमा सम्पादन हुनुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो।