धार्मिक स्थल गौरीघाटमा अतिक्रमण


पशुपति क्षेत्रमा अवस्थित पवित्र प्राचीन धार्मिक स्थल गौरीघाट क्षेत्रमा विगत केही दिनअघिदेखि विभिन्न व्यक्ति तथा समूहहरूको नाममा हुलहुज्जत र जबर्जस्ती गरी श्रद्धालु भक्तजनहरूलाई भ्रमित र आतंकित पार्ने क्रम बढ्दै गएको छ।

यसै क्रममा आफूलाई नागको भक्त भन्ने इन्द्रबहादुर बस्नेत तथा निजका चेलालगायतका व्यक्तिहरूले गौरीघाट मन्दिरको दक्षिणतर्फ हनुमानस्थानको पूर्वतर्फको भकारीमा रहेको ढुंगेधाराको मुन्तिर बासुकी नाग उत्पन्न भएको, आफूले नागको दर्शन गरेको, सो स्थानमा नाग पूजा गर्दा चिताएको पुग्ने लगायतका कुरा प्रचार गर्दै, रंगरोगन दल्ने, मूर्ति खोप्न खोज्ने र पटक–पटक जबर्जस्ती नागको मूर्ति ल्याएर स्थापना गर्न खोजेर धार्मिक स्थान कब्जा गर्ने कार्य गर्दै आएका छन्।

यति मात्र होइन, उनीहरूलाई सो कार्य नगर्न भन्दा गौरी र हनुमान दर्शन गर्न आउने दर्शनार्थी श्रद्धालु भक्तजन तथा गौरी पुजारीलाई हप्कीदप्की गर्ने, पिट्न खोज्ने, लखेट्ने काम गर्ने, बागमतीमा नुहाउन जाने र श्राद्ध तथा अन्य धार्मिक कार्य, पूजा गर्नेहरूलाई सो कार्य गर्न बाधा पार्ने गरेकाले सबैमा असुरक्षा महसुस भइरहेको छ।

जबकि त्यहाँ हनुमान मन्दिरको दायाँतर्फ पूर्वी भागमा बागमतीको किनाराको सिँढीमा प्राचीन नागको बेग्लै मूर्ति प्राचीनकालदेखि रहेकै अवस्था छ। निजहरूका काम कारबाहीहरू देख्दा केही महिनाअघि श्री किराँतेश्वर मन्दिरमा भएको मूर्ति तोडफोडको सम्झना आउने र कतै यहाँ पनि त्यस्तै घटना हुने त होइन भन्ने आशंका भक्तजनहरूले गर्न थालेका छन्।

उनीहरूको भनाइ, गराइ र त्यहाँ नागको मूर्ति स्थापना गरी नाग मन्दिर बनाउन कम्मर कसेर लागेको देखिएबाट निजहरूलाई स्थानीय केही व्यक्तिहरूले समेत उक्साएको हो कि भन्ने पनि देखिन्छ।

पुराणमा वर्णित पार्वतीले तपस्या गरेको पवित्र तीर्थस्थल गौरीघाटमा यस्तो अराजक गतिविधि बढिरहँदा र सोको जानकारी हुँदा पनि पशुपति क्षेत्र विकास कोष र स्थानीय प्रहरी बिटसमेत मूकदर्शक बनेका छन्।

यसले अब केही दिनपछि शुरू हुने एकमहिने स्वस्थानी मेला भर्न आउने भक्तजनहरूलाई प्रभावित पार्ने निश्चित छ। तसर्थ निजहरूको माथि उल्लिखित अराजक क्रियाकलापलाई अविलम्ब रोक लगाई धार्मिक स्थलमा निर्बाधरूपमा परम्परागत धार्मिक कार्य गर्न सहज वातावरण बनाइदिनुहुन सबै सम्बन्धित निकायहरूमा अनुरोध गर्दछु।

– अञ्जनकुमार आचार्य
(पुजारी, गौरीघाट र हनुमान मन्दिर)
गौरीधाट, पशुपति क्षेत्र।