आफ्नो क्षेत्रभित्रका सडक पेटी महानगर आफैंले व्यबस्थित गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

पुस २९ गते नगर सभाको मिति तय गर्दै आज महानगरको ३९ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरको सभा कक्षमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले २०७३ भदौ २७ गते प्रकाशित सूचना नं. ६ र ७ बमोजिमका बिज्ञापन रद्द गरी आवेदकको परीक्षा दस्तुर फिर्ता गर्ने, धर्मपथस्थित आफ्नै जग्गामा निजी क्षेत्रको डिजाइन, निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धि आवेदन रद्द गर्नेलगायत निर्णय गरेको छ ।

कार्यपालिका बैठक प्रमुख शाक्यले — बिज्ञापन गर्दा बखतमा रहेको पदपूर्ति समिति नरहेकोले बिज्ञापनबमोजिमको प्रक्रिया अगाडि नसकिने अबस्थामा आवेदकको मागअनुसार परीक्षा दस्तुर फिर्ता गर्न उपयुक्त रहेको प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । त्यस्तै उहाँले धर्मपथमा डिएफबिओटि (प्रचलित मापदण्डअनुसार बिकासकर्ताले डिजाइन तयार पार्ने, त्यसलाई स्वीकृत गराएर भौतिक संरचना निर्माण गर्ने, सम्झौताका आधार र विधिमा निश्चित समय सञ्चालन व्यवस्थापन गर्ने र तोकेको समय पुगेपछि दुरुस्त अवस्थामा महानगरलाई हस्तान्तरण गर्ने) ढाँचामा बहुतले पार्किङ् बनाउन स्वदेशी तथा बिदेशी लगानीकर्ताबाट माग गरिएको आशय पत्रबमोजिमको काम गर्न कानुनी जटिलता रहेकोले रद्द गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रमुख शाक्यकाअनुसार यस ढाँचामा निजी क्षेत्रसँग काम गर्ने संघीय सरकारको कानुनबमोजिम स्थानीय सरकारले काम गर्न पाउने कि नपाउने भन्ने बिषयमा कानुनमा केही उल्लेख नभएकोले आशय पत्र रद्द गर्नुपरेको हो ।

बैठकमा पेश गरिएका प्रस्ताव स्वीकृत गर्दै — धर्मपथमा ‘काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५’, बमोजिम कामको योजना शिफारिस गर्न वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा वडा १७ का अध्यक्ष नबिन मानन्धर, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र कार्यपालिका सदस्य रमिताकमल स्थापित हुनुहुन्छ भने सदस्य सचिवमा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुब काफ्ले हुनुहुन्छ ।

आजको बैठकले नेपाल बिद्युत प्राधिकरणले महानगरलाई तिर्नु पर्ने राजस्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका बिषयमा अध्ययन गरी हिसाब मिलान गर्न शिफारिस गर्न वडा ३ का अध्यक्ष दिपक के. सी. को संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा २३ का अध्यक्ष मचाराजा महर्जन, वडा २८ का अध्यक्ष भाइराम खड्गी र कार्यपालिका सदस्य कान्ता अधिकारी र पूर्वाधार बिकास बिभागका प्रमुख डा. उत्तरकुमार रेग्मी सदस्य सचिव हुनुहुन्छ । यससँगै महानगरका प्रयोग भइरहेको तथा आवश्यक पर्ने सवारी साधनको व्यवस्थापन अध्ययनका तथा खरिद गर्नुपर्ने भए शिफारिस गर्न वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ हुनुहुन्छ भने सदस्य सचिवमा यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य हुनुहुन्छ ।

बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत ५ वटा सार्वजनिक शौचालयसहित ३६ वटा बस ट््याण्ड निर्माण गर्न अनुमति दिने गरेको छ । बैठकले वडा ३२ मा दर्ता भएर सञ्चालन हुँदाहुँदै सञ्चालक बेपत्ता भएको हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्ने निर्णय गरेको छ ।

आजको बैठकका अन्य निर्णयहरुमा वडा २७ को वडा कार्यालयको भवन निर्माण सम्झौता गर्ने, चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्रभित्रका पैदल मार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगरबाट मर्मत, सम्भार तथा व्यबस्थापन गर्नेलगायत छन् ।