राजधानी हेटौंडामा राख्न नेताहरुको ‘निर्देशन’


न्युज अफ नेपाल, हेटौंडा ।

नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेपछि आफ्नै दलका नेता तथा सांसद्हरुबाट विरोधका स्वर उठिरहेको बेला पार्टी अध्यक्ष-प्रधानमन्त्री केपी शर्माओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजधानी हेटौंडामा नै राख्न ‘निर्देशन’ दिनुभएको छ ।

अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँहरुले राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौंडा राजधानी राख्ने निर्णय गरिएको भन्दै ‘त्यसैअनुसार भूमिका निर्वाह गर्न’ निर्देश गर्नुभएको छ ।

बालुवाटारमा अध्यक्षद्वयको ‘निर्देशन’ भन्दै प्रदेशका एक नेताले भने–हेटौंडामा संरचना बनिसकेका छन् । अन्य ठाउँमा नयाँ संरचना बनाउनुपर्ने हुन्छ । त्यो झन्झट नब्यहोरौं, निर्णय परिवर्तन नगरौं ।

नेकपा सचिवालयको निर्णयपछि नेकपाका प्रदेश सांसद्हरुद्वारा गरिएको विरोध मत्थर गर्न नेकपाका नेताहरुले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षलगायत नेताहरुलाई बालुवाटार बोलाएर प्रदेशको राजधानी हेटांैडामा नै राख्न कडा ‘निर्देशन’ दिनुभएको हो ।

प्रदेशको नाम र राजधानी हेटौंडा तोक्ने सत्तारुढ नेकपाको निर्णयप्रति सोही पार्टीका सांसद्ले नै विरोध जनाएपछि केन्द्रीय नेताहरुको यस्तो ‘निर्देशन’ आएको हो । हेटौंडालाई प्रदेश राजधानी तोक्न निर्देशन दिने नेकपा सचिवालयको निर्णयको उसकै पार्टीका सांसद्ले विरोध गर्दै संविधान र संघीयतामाथि नै प्रहार गरेको भन्दै उक्त निर्णय नमान्ने चेतावनी दिएका हुन् ।

राजधानी र नाम तोक्ने अधिकार प्रदेश संसद्लाई छ । नेपालको संविधानको धारा २८८ (२) बमोजिम प्रदेशको राजधानीका सम्बन्धमा प्रदेशसभाको दुई तिहाइले जहिलेसुकै निर्णय गर्नसक्ने संवैधानिक व्यबस्था गरेको छ ।

प्रदेशको सभामा कुल १ सय १० सांसद्मध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको ८ मत छ । संसद्मा भोटिङ नै भए पनि यही निर्देशनानुसार अब हेटौंडा नै स्थायी राजधानी बन्ने प्रायः निश्चित छ । प्रदेश स्थायी राजधानीका लागि ७४ मत भए पुग्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले निकै लामो रस्साकस्सी र प्रतीक्षापछि बहुचर्चित प्रसंगलाई बिट मार्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव गर्ने निर्णय गरी हस्तक्षेप गरेको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै त्यसअनुसार आफ्ना दलका सांसद्हरुलाई अघि बढ्न निर्देशन दिएको छ ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडालाई तोक्न प्रदेश कमिटी र प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको थियो । अघिल्लो सरकारले हेटौंडालाई नै अस्थायी मुकाम (राजधानी) तोकेको थियो ।

प्रदेशको प्रदेशसभामा नेकपाको दुई तिहाइ मत छ । आफ्नै पार्टीको दुई तिहाइ बहुमत रहेकोले नेकपा सचिवालय बैठकले नाम र राजधानी टुंगो लगाएको हो । प्रतीक्षाको विषय बनेको नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेशसभाले सम्भवतः पुस २२ गते निर्णय गरेपछि नाम र राजधानीले विधिवत् औपचारिकता पाउने विश्वास छ । पुस २१ गते प्रदेशसभा बैठक बस्ने भएको छ ।

२०७५ वैशाख १४ गते प्रदेशसभा बैठकले दीपक निरौलाको संयोजकत्वमा १० सदस्यीय स्थायी राजधानी र नामाकरण विशेष समिति गठन गरेको थियो । ४५ दिन समय पाएको समितिले ६० दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई असार २६ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन प्रदेशसभाको बैठकमा सभामुख श्रेष्ठले सोही दिन प्रदेशसभामा टेबल गर्नुभएको थियो ।

संसद्द्वारा गठित विशेष समितिले प्रदेशका १० जिल्लाको स्थलगत भ्रमण गरेर सम्भावित राजधानीको नाम वर्णाणुक्रमअनुसार सिफारिस गरेको थियो । सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर थिए ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन् । प्रदेश–३ को निर्णयपछि अब प्रदेश–१, २ र ५ ले राजधानी र नाम टुंगो लगाउन बाँकी छ ।