विद्यालयका खानेपानी खान ‘अयोग्य’


न्युज अफ नेपाल, हेटौंडा ।

‘बालमैत्री’ गाउँपालिका घोषणाको अन्तिम तयारीमा पुगेको मकवानपुरको मनहरी गाउँपालिकाका आधाजसो विद्यालयका खानेपानी खान ‘अयोग्य’ रहेको पाइएको छ । मनहरीमा ४ हजार ५ सय ७० छात्रा र ४ हजार ५३ छात्र गरी ८ हजार २३ विद्यार्थी विद्यालयमा भर्ना भएको अभिलेख छ ।

ती बालबालिकाले खाने गरेको पानीमा कोलिफर्मको मात्रा अधिक रहेको पाइएको हो । कोलिफर्म मानिस, गाईवस्तु, चराचुरुंगीजस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाईन्छ । कोलिफर्म कुनै एक ब्याक्टेरियामात्र नभएर दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । उक्त क्षेत्रमा फेकल कोलिफर्म भेटिएको हो । यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको भन्ने बुझाउँछ ।

गाउँपालिकाका ८ माविसहित ३२ विद्यालयका बालबालिकाले दैनिक पिउने गरेको पानीको परीक्षण गर्दा यस्तो नतिजा आएको हो । सबै विद्यालयका बालबालिकाले पिउने पानीको नमूना संकलन गरी गाउँपालिकाले परीक्षण गरेको थियो ।

१४ विद्यालयको पानी ‘पिउनै नहुने’ पाइएको र ८ विद्यालयको पानी प्रशोधन गरेर पिउन मिल्ने पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारीले बताउनुभयो । १० विद्यालयको पानी भने पिउनयोग्य पाइएको छ । महेन्द्रकिरण मावि सिम्पानीको पानी पिउन ‘अयोग्य’ छ । जहाँ ८ सय ४२ विद्यार्थी अध्ययनरत् छन् ।

६ सय २० बालबालिका अध्ययनरत् भोजसिद्ध माविको पानी पनि पिउन अयोग्य रहेको पाइएको छ । राष्ट्रिय मावि सुनाचुरीको पानी पनि पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो । उक्त विद्यालयमा ७ सय ३४ बालबालिका अध्ययनरत् छन् ।

५ सय २२ बालबालिका अध्ययनरत् पशुपतिनाथ माविको पानी ‘प्रशोधन गरेरमात्र’ बालबालिकालाई पिउन दिनुपर्ने परीक्षणले देखाएको छ । कोलिफर्मको मात्रा कम रहेका नमूनामा पनि प्रशोधन गरेरमात्र पिउनुपर्ने स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो ।

कोलिफर्म भेटिएको पानीलाई उमालेर, फिल्टर गरेर र पानी शुद्ध गर्ने रसायनले उपचार गरेपछि मात्र प्रयोगमा ल्याउन स्वास्थ्य प्राविधिकले सुझाव दिएका छन् । ‘तर, उक्त सुझाव विद्यालयमा पालना गर्न हाल सम्भव छैन,’ पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले दाबी गर्नुभयो ।

गाउँपालिकालाई पुस २५ गते पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । बालमैत्री घोषणा गर्नुपूर्व ३९ वटा सूचक पार गरेको हुनुपर्छ । जसमध्ये विद्यालयमा सफा पिउने पानी सहजरुपमा उपलब्ध भएको हुनुपर्छ ।

कुनै पानीमा कोलिफर्म भेटिनु भनेको मानिसलगायत कुनै न कुनै पशुपक्षीको दिसा मिसिनु भन्ने हो । कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्छ ।

वर्षामा परेको पानी भेलका रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ । खोंचमा पानीको मुहान हुन्छ । भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुंगीको बिष्टा पनि हुनसक्छ । यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परीक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ ।

सामान्यतयाः पानीमा कोलिफर्म हुनु भनेको पानी प्रदुषित वा पिउन अयोग्य हुनु हो । कोलिफर्म आँखाले देख्न सकिन्न । कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला लाग्नसक्ने अधिकारीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–खानेपानी पहिलो प्राथमिकताको विषय हो । सफा पिउने पानी नै उपलब्ध नभए हजारौं बालबालिकाको स्वास्थ्य स्थितिमा गम्भीर संकट पर्नेछ ।