इसरोको अन्तरिक्ष कार्यक्रम : गगनयानका लागि चार अन्तरिक्ष यात्रीको चयन, चन्द्रयान–३ प्रक्षेपण अर्को वर्ष



नयाँ दिल्ली (एजेन्सी) ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के. सिवनले चन्द्रमाका लागि इसरो चन्द्रयान–३ परियोजनामा काम गरिरहेको पुष्टि गर्दै सन् २०२१ सम्ममा प्रक्षेपण गर्न सकिने जानकारी दिए। त्यसैगरी गगनयानका लागि ४ अन्तरिक्ष यात्रीको चयन पनि गरिएको छ।

यसअघि केन्दी्रय मन्त्री जितेन्द्र सिंहले सन् २०२० मा चन्द्रयान ३ प्रक्षेपण गरिने घोषणा गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ। नयाँ वर्षको शुरुआतमा प्रेस सम्मलनको आयोजना गर्दै इसरो प्रमुख के. सिवनले चन्द्रमामाका लागि भारतको तेस्रो अभियानसँग सम्बन्धित सबै काम अत्यन्त सहजता पूर्वक भइरहेको जानकारी दिए।

चन्द्रयान–२ जस्तै चन्द्रयान–३ मा पनि ल्यान्डर र रोवर रहने उनले जानकारी दिए। यो अभियानका लागि २ अर्ब ५० करोड भारतीय रुपैया लाग्ने उनले बताए।

भारतले सन् २०१९ चन्द्रयान–२ अभियान थालेको थियो। त्यसको उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी पानी खोजी गर्नु थियो। अहिलेसम्म यस प्रकारको कुनै अभियान भएको थिएन। चन्द्रयान–२ अर्बिटर अन्तरिक्षमा स्थापित भए पनि रोवरको सफ्ट ल्यान्डिङ हुन सकेन।

चन्द्रमामा अहिलेसम्म अमेरिका, रुस र चीनले मात्र यस प्रकारको अवतरण गर्न सकेका छन्। चीनको चाँगी ४ गत वर्ष चन्द्रमाको नदेखिने सतहमा अवतरण गरिएको थियो। इजरायलको बेरेसिट अन्तरिक्ष यानले सन् २०१९ अप्रिलमा चन्द्रमामा अवतरणको असफल प्रयास गरेको थियो।

यसबीच इसरो प्रमुखले भारतको मानव अन्तरिक्ष अभियान गगनयानको जानकारी पनि दिए। इसरोले यस क्षेत्रमा राम्रो प्रगति गरिरहेको उनले थपे। यस अभियानका लागि ४ अन्तरिक्ष यात्रीको चयन गरिएको र उनीहरू यसै महिनाको अन्त्यतिर रुसमा प्रशिक्षणका लागि जाने उनले बताए।

सन् २०१८ मा सरकारले गगनयान परियोजनामा करिब १ खर्ब भारु खर्च लाग्ने बताएको थियो। भारत आफ्नो सस्तो लागतमा भू–उपग्रह प्रक्षेपण र अन्तरिक्ष अभियानका लागि चिनिन्छ।

सन् २०१४ मा मंगल ग्रहका लागि मानवरहित अभियान ७ करोड ४० लाख डलरमा पूरा गरेको थियो। उक्त योजनाको खर्च हलिवुडको सोही वर्ष प्रदर्शनमा आएको फिल्म ग्रेविटीको बजेटभन्दा कम थियो।

प्रतिक्रिया दिनुहोस्