प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सीमा समस्या समाधान गर्न सहमत

0
Shares

काठमाडौं, (नेस)।

सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ।

वार्तामार्फत द्विपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उहाँहरूबीच संवाद भएको हो।इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

गत कात्तिक दोस्रो साता भारतले नेपालका कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली–मोदीबीच पहिलोपटक संवाद भएको हो। सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र यो वर्ष २०२० अझै उचाइमा पुर्याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

थापाका अनुसार सोही वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमण वर्षबारे अवगत गराउँदै नेपाल भ्रमणको समेत निम्तो दिनुभएको छ।

यसैबीच भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन भारत, चीन, म्यानमार, जमैकालगायतका मुलुकका मन्त्री÷राज्यमन्त्री नेपाल आउनुभएको छ। भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशक र उच्च अधिकारी पनि कार्यक्रममा सहभागी हुन नेपाल आएका भ्रमण वर्ष सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मंगोलियाका संस्थापक राष्ट्रपति र अन्य मुलुकका उच्च अधिकारी पनि नेपाल आउने तयारीमा हुनुहुन्छ।