काठमाडौंसहित सातै प्रदेशमा भ्रमण वर्षको शुभारम्भ

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

संघीय राजधानी काठमाडौंसहित मुलुकका सातवटै प्रदेशमा बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरियो।
सोको शुभारम्भ काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेशहरूमा त्यहाँका मुख्यमन्त्रीहरूले गर्नुभयो।

दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले दीप प्रज्वलन र भ्रमण वर्षको प्रतीक यतीको मूर्ति अनावरण गर्दै भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको थियो।

भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा भएको प्राकृतिक मनोरम दृश्य तथा नदीनालाको अवलोकनका लागि सम्पूर्ण विदेशी मुलुकलाई आह्वान गर्नुभयो।

सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै उहाँले नेपालमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध विकासको खाँचो रहेको औंल्याउनुभयो।

पर्यटकीय गन्तव्यलाई प्रतिस्पर्धाबाट पनि विकास गर्न सकिने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई नाफा आर्जन र व्यवसाय अभिवृद्धिका रूपमा मात्रै हेर्न नहुने धारणा राख्नुभयो। भ्रमण वर्ष सफल पार्नु सबै नेपालीको दायित्व भएकाले यसलाई सफल पार्न उहाँले सबै नेपालीमा आह्वान गर्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल जैविक विविधताले भरिपूर्ण भएको देश भएकाले यस्ता विविधतालाई नजिकबाट अवलोकन गर्न आउन विदेशी पाहुनालाई आग्रह गर्नुभयो।

नेपालमा के छ भन्नेहरूका लागि सबैथोक छ भन्ने सन्देश पठाउन भ्रमण वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले विभिन्न मौसममा अनुकूल हुने गरी नेपालमा मात्रै भ्रमण गर्न सकिने स्पष्ट पार्नुभयो।

शान्ति स्थापना भई नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो– ‘यस अवस्थामा विदेशी मित्रहरूले नेपाललाई भरपुर सहयोग गर्नुपर्छ। नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ हो।’

सन् २०२० पर्यटकका लागि प्रस्थान विन्दु भएको बताउँदै उहाँले अबको एक दशकलाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गर्नुभयो। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै र पोखरा विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने, निजगढ विमानस्थल अनिवार्य बनाइने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने मन्त्री भट्टराईको दाबी थियो।

सोही कार्यक्रममा नायक राजेश हमालले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै लागि पर्नुपर्ने बताउँदै लुम्बिनी, सगरमाथालगायतले विश्वको ध्यानाकर्षण हुने विचार राख्नुभयो।

कार्यक्रममा विभिन्न झाँकीका साथ नृत्यहरू प्रदर्शन गरिएका थिए। विभिन्न देशबाट आएका अतिथि प्रतिनिधिसहित राष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो।

तस्वीर : उजोल डंगोल