घर भाडामा लिनेदिनेको विवरण लिँदै प्रहरी

0
Shares

काठमाडौं, (नेस)।

राजधानी उपत्यकालगायत देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेको विवरण अब प्रहरीलाई दिनुपर्ने भएको छ।शहरी क्षेत्रमा घर भाडामा लिएर बसेकाबाट विभिन्न किसिमका आपराधिक घटना हुन थालेपछि सरकारले घरभाडामा दिने र लिनेको विवरण प्रहरीलाई दिन आग्रह गरेको छ।

घरभाडामा लिएर बस्ने स्वदेशी तथा विदेशीबाट विभिन्न किसिमका आपराधिक घटना हुन थालेपछि गृह मन्त्रालयले घर भाडामा दिने घरबेटी र भाडामा बस्नेको तीनपुस्ते नजिकको प्रहरी चौकीलाई दिन आग्रह गरेको छ।

मन्त्रालयले घरभाडामा लिएर बस्ने घर छोडेर गएको विवरणसमेत प्रहरी चौकीलाई दिनुपर्ने निर्णय गरेको छ। हालैका दिनमा घरभाडामा लिएर विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसूरजस्ता अपराधका घटनामा वृद्धि भएको भन्दै मन्त्रालयले प्रहरीमा विवरण दिन निर्देशन दिएको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।

स्थानीय प्रहरी एकाइमा अनिवार्यरूपमा दिने र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवं अद्यावधिक अभिलेख राख्ने बैठकले निर्णय गरेको मन्त्रालयले जनाएको छ।