घरघरै पुगेर निःशुल्क सेवा दिँदै पशु प्राविधीक


न्युज अफ नेपाल, पर्वत

पर्वतको मोदी गाउँपालिकाले कृषकहरुको सहजताको लागि भन्दै पशु प्राविधिकहरुलाई कृषकका घर घरमा पठाउन सुरु गरेको छ।
गाउँपालिकाका सबै प्राबिधीकहरुलाई कृषकका घरघरै पुगेर सेवा दिन खटाईएपछि प्राबिधीकहरुले घरदैलो सेवा शुरु गरेका हुन ।

अधिकांश नागरिकहरु कृषिमा नै निर्भर रहेकाले पालिकाले पनि कृषकहरुलाई सोही अनुसारको सुविधा र्पुयाउने उद्देश्यले पशुसम्बन्धी कुनै पनि समस्या परेमा कृषकका गोठमा नै प्राविधिकहरु पुग्ने गरेको पशु सेवा शाखाका प्रमुख विमलप्रसाद पौडेलले बताउनुभयो ।

आठवटा वडाहरु रहेको पालिकामा प्रत्येक वडा समेट्ने गरेर प्राविधिकहरु खटाइएकोले कृषकहरु लाई सजिलो भएको उहाँको भनाइ छ। ‘जब कोही पनि किसानले कृषि क्षेत्रमा देखिएका समस्याहरु विशेष गरी पशुहरुको समस्या बताउँदै फोन गर्नुहुन्छ, हाम्रा प्राविधिकहरु तुरुन्तै कृषकको घर घरमा जानुहुन्छ।’ उहाँले भन्नुभयो , ‘प्राविधिकहरुले कृत्रिम गर्भाधानदेखि लिएर डिबिकिङ गर्ने तथा सामान्यदेखि जटिल रोगहरुको पनि निदान गर्दै आउनुभएको छ।
कृषकहरुलाई जुनसुकै बेलामा पनि सेवा उपलब्ध गराइएको छ।’

पालिकाभित्रका सबै वडाहरु तिलाहार, देउपुर, भुक, बाजुङ्ग, देउराली, राम्जा, चित्रे र क्याङमा पालिएका पशुहरुमा जुनसुकै बेला जस्तोसुकै समस्या देखा परेको भए पनि प्राविधिकहरुलाई बोलाएमा पालिकाबाट तुरुन्तै प्राविधिकहरु पुग्ने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रेम शर्मा पौडेलको भनाइ छ।

पशुसँग सम्बन्धित कुनै पनि समस्या आएको बेलामा प्राविधिकहरु गोठमै पुगेर सेवा दिँदा आफूहरुलाई सजिलो भएको तिलाहारका कृषक लक्ष्मण रिमालको भनाइ छ।
बिरामी परेका वा समस्या देखिएका पशुहरुलाई अन्दाजमा औषधि दिनुभन्दा गोठमा नै पुगेर प्रत्यक्ष अवलोकन गरेर औषधि दिँदा त्यसको राम्रो प्रभाव रहने पशु प्राविधिक माधवप्रसाद सापकोटाको भनाइ छ।