प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, वार्ता निष्कर्षमा पुग्न सकेन


न्युज अफ नेपाल, काठमाडौं ।

मंगलबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो बालुवाटारमा भएको भेटमा सभामुखको विषयमा सामान्य कुराकानी भए पनि दुई अध्यक्ष निष्कर्ष निकाल्न सकेनन्।

एक सचिवालय सदस्यका अनुसार पार्टी एकीकरणका बाँकी काम टुंगोमा पुर्‍याउने विषयमा पनि छलफल भएको थियो । सभामुखको विषयमा खासै छलफल भएन ।

उता प्रचण्डको सचिवालयले पनि सभामुखको विषयमा कुनै निष्कर्षमा नपुगेको बताएको छ। गत असोजदेखि रिक्त रहेको सभामुख चयनको विषयमा नेकपा निष्कर्षमा पुग्न सकेको छैन। यही कारण ११ गतेका लागि तय गरिएको संसद बैठक सूचना टाँस गरी रद्द गरिएको थियो। अब संसद १६ गतेका लागि बोलाइएको छ।

ओली र अर्का प्रचण्डले सभामुखका लागि छुट्टाछुट्टै उम्मेद्वार अघि सारेका छन्। ओली पूर्वसभामुख समेत रहेका सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा तथा प्रचण्ड स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा रहेको बुझिन्छ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउदा उपयुक्त हुने सुझाव दिएको नेकपाका नेताहरु बताउँछन्। पार्टी एकता नहुँदा सभामुख माओवादी तथा उपसभामुख एमालेको भागमा परेको थियो। पूर्व माओवादीहरु आफ्नै पक्षले सभामुख बन्न पाउनुपर्ने माग राख्दै आएका छन्।

उता, सभामुखका लागि पूर्वसभामुख नेम्वाङ नै उपयुक्त पात्र भएको पूर्वएमाले नेताहरु बताउछन्। यौन शोषणको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महरा यतिबेला जेलमा छन्। उपसभामुख तुम्बाहाम्फे आफू सभामुख बन्नुपर्ने अडानमा छिन्। नेकपामा सभामुखबारे अन्यौलता कामयमै छ।