रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ। सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसद्का सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। पूर्वयोजनाअनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिनुभयो।

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ।सांसद भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताउनुभयो।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनुपर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो।

त्यसैगरी, बैठकमा बुंगमती सार्वजनिक पूर्वाधार एवं सम्पदाको पुनर्निर्माण गर्नका लागि तयार गरिएको अन्य गुरुयोजना बारे छलफल भएको छ।

संघीय सांसद भुसालले गुरुयोजनालाई स्वीकार गरी गुरुयोजनाअनुसार पुनर्निर्माणको कार्य अघि बढाउन उपर्युक्त हुने धारणा राख्नुभयो। उहाँले त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाका तर्फबाट गुरुयोजनाको स्वामित्व लिने र त्यसका केही मुख्य भाग पुनर्निर्माण गर्न सहयोग गर्ने आश्वासन दिनुभयो।